भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन


काठमाडाैँ । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

समितिले बुधबार सिंहदरबारमा गरेको छलफलका क्रममा सभापति पौडेलले स्थलगत निरीक्षणमा जानुअघि नै ४९ वटै वडाको क्षति तथा नोक्शानीसम्बन्धी तथ्याङ्क आवश्यक रहेको बताए ।

उनले प्रत्येक वडामा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए र कृषि लगायतका विभिन्न क्षेत्रमा कति क्षति पुग्यो भन्ने यथार्थ विवरण सरकारी निकायबाट हस्ताक्षर गरी प्रमाणित गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उनकाअनुसार सही र प्रमाणित सूचना प्राप्त भएपछि मात्रै समितिले यथार्थपरक प्रतिवेदन तयार गर्न र तथ्यमा आधारित निर्णय तथा सुझाव दिन सक्नेछ ।

समितिले स्थलगत निरीक्षणका क्रममा सरकारी प्रतिवेदनमा उल्लेख गरिएको राहत वितरणको विवरण र प्रभावित नागरिकले वास्तविक रूपमा प्राप्त गरेको राहतको अवस्था पनि तुलना गर्ने जनाएको छ ।

सरकारी निकायले राहत उपलब्ध गराएको दाबी गरे पनि सम्बन्धित नागरिकले प्राप्त गरे वा नगरेको विषयमा समितिले स्थलगत रूपमा जानकारी लिने पौडेलले बताए । 

राष्ट्रिय सभाले गर्ने अध्ययन तथा अनुगमन तथ्याङ्कमा आधारित र प्रभावित नागरिकले भोगेको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।

त्यसैले सम्बन्धित निकायले आवश्यक विवरण यथाशिघ्र उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पौडेलले तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले स्थलगत निरीक्षण अघि बढाउने बताए ।