अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा


काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषबाट उत्पन्न मौसमी प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार साँझदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा सुरु भएको वर्षा शुक्रबार बिहानसम्म पनि जारी छ।

रातभर निरन्तर वर्षा भएपछि जनजीवनसमेत प्रभावित भएको छ।
अर्नब चक्रवात कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भए पनि त्यसबाट आएको जलवाष्प र माथिल्लो वायुमण्डलको मौसमी प्रणालीको अन्तरक्रियाले नेपालमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। यसको प्रभाव शुक्रबार र शनिबारसम्म रहने पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ६ः५३ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोकको रोसी मौसम मापन केन्द्रमा ३३ मिलिमिटर रेकर्ड भएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

विभागले जारी गरेको तीनदिने मौसम पूर्वानुमानअनुसार शुक्रबार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ।

त्यस्तै, मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा, कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र अन्य प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

शुक्रबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। मधेश प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

शनिबारसम्म पनि वर्षा र हिमपातको जोखिम कायम रहने भएकाले पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा जलसतह बढ्ने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको छ। त्यसैले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ।