भारतीय बजारमा एआई,स्वास्थ्य र वित्तीय प्रविधि स्टार्टअपको नयाँ उचाई,७ नयाँ ‘युनिकर्न’ कम्पनी थपिए


काठमाडौँ । भारतको स्टार्टअप क्षेत्रमा सन् २०२६ एक महत्वपूर्ण वर्ष बनेको छ । गत वर्ष ५० करोडदेखि १ अर्ब अमेरिकी डलर मूल्याङ्कन भएका सात कम्पनीले यस वर्ष १ अर्ब डलरभन्दा बढी मूल्याङ्कन हासिल गर्दै ‘युनिकर्न’ कम्पनीको हैसियत प्राप्त गरेका छन् ।

एएसके प्राइभेट वेल्थ र हुरुनद्वारा सार्वजनिक गरिएको भारतका द्रुतगतिमा वृद्धि भइरहेका निजी कम्पनीहरूको सूचकाङ्क २०२६ अनुसार स्वास्थ्य सेवा, वित्तीय प्रविधि (फिनटेक) र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित व्यवसायहरू युनिकर्न बन्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन् ।

स्टार्टअप क्षेत्रमा १ अर्ब अमेरिकी डलर (लगभग १ खर्ब ३५ अर्ब नेपाली रुपैयाँ) वा सोभन्दा बढी मूल्याङ्कन भएको निजी कम्पनीलाई ‘युनिकर्न’ भनिन्छ। यस्ता कम्पनीहरू स्टक बजारमा सूचीकृत नभए पनि लगानीकर्ताले तिनको भविष्यको सम्भावना हेरेर उच्च मूल्याङ्कन गरेका हुन्छन् ।

भारतको स्टार्टअप इकोसिस्टममा कृत्रिम बुद्धिमत्ता, स्वास्थ्य सेवा र वित्तीय प्रविधि क्षेत्रले नयाँ रेकर्ड बनाइरहेका छन् । सात कम्पनीले एकै वर्षमा युनिकर्नको हैसियत प्राप्त गर्दा थप १५ कम्पनी ग्याजेलको सूचीमा परेका छन् । जसको मूल्याङ्कन हाल ५० करोडदेखि १ अर्ब डलरसम्म छ र आगामी तीन वर्षभित्र युनिकर्न बन्ने बलियो सम्भावना छ त्यस्ता कम्पनीलाई ग्याजेल अर्थात ‘भोलिका सम्भावित युनिकर्न’ कम्पनी मानिन्छ ।


अमेरिका र चीनपछि विश्वको तेस्रो ठुलो ‘ग्याजेल हब’ बनेको भारतमा एआई, डिजिटल स्वास्थ्य सेवा, अनलाइन वित्तीय सेवा र विद्युतीय सवारीसाधन क्षेत्रले लगानी आकर्षित गरिरहेका छन् । यसले आगामी वर्षहरूमा भारतबाट थप दर्जनौं अर्ब डलर मूल्याङ्कनका कम्पनी जन्मिने सम्भावना बलियो बनाएको विश्लेषकहरूको भनाइ छ ।

एएसके प्राइभेट वेल्थ–हुरुन भारत ग्याजेल सूचकाङ्क २०२६ अनुसार भारतमा हाल ५१ वटा ग्याजेल कम्पनी रहेका छन् । यो सङ्ख्या सन् २०२५ मा ४७ रहेकोमा सन् २०२६ मा ५१ पुगेको छ । ग्याजेल सूचीमा रहेका यी कम्पनीहरूको कुल संयुक्त मूल्याङ्कन ३.३ लाख करोड भारतीय रुपैयाँ (करिब ३४.१ अर्ब अमेरिकी डलर) पुगेको छ। प्रति कम्पनीको औसत मूल्याङ्कन ६,४०० करोड रुपैयाँ रहेको प्रतिवेदनले जनाएको फाइनान्सियल एक्सप्रेसले जनाएकाे छ।

ग्याजेल कम्पनीहरूमध्ये वित्तीय प्रविधि (फिनटेक) क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। यस क्षेत्रका १३ कम्पनी ग्याजेल सूचीमा परेका छन् ।