काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपालको पूर्वाधार विकासलाई सडक निर्माणको लम्बाइबाट नभई एक ठाउँबाट अर्को ठाउँ पुग्न लाग्ने समयका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले देशका प्रमुख सहर तथा पूर्व–पश्चिमका भूभागलाई निश्चित समयभित्र जोड्नसके मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका हुन् ।
उनले काठमाडौँलाई तीन घण्टामा चितवन, साढे तीन घण्टामा पोखरा, ६ घण्टामा काँकडभिट्टा र नौ घण्टामा कञ्चनपुरसँग जोड्ने पूर्वाधार आवश्यक रहेको औँल्याए ।
त्यस्तै, पूर्वदेखि पश्चिमसम्मको यात्रा १२ घण्टामा पूरा गर्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ । उनले आफ्नो अवधारणालाई ‘३, ६, ९, १२ बराबर १००’ भन्दै प्रस्तुत गरे ।
देशका विभिन्न भूभागबीचको यात्रा समय घटाउन सके मात्रै १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यले सार्थकता पाउने उनले बताए ।
पाण्डेकाअनुसार सडक र पुल निर्माण गर्नु मात्रै पूर्वाधार विकास होइन, त्यसले नागरिकको आवागमन, व्यापार व्यवसाय र आर्थिक गतिविधिमा कति सहजता ल्यायो भन्ने महत्वपूर्ण हुन्छ ।
उनले भने, “आज म छोटकरीमा एउटा कुरा राख्न चाहन्छु । ३, ६, ९, १२ बराबर १०० । यसको अर्थ हो– काठमाडौँबाट ३ घण्टामा चितवन, साढे ३ घण्टामा पोखरा, ६ घण्टामा काँकडभिट्टा र ९ घण्टामा कञ्चनपुर पुग्न सक्ने पूर्वाधार निर्माण गर्न सक्यौँ भने मेचीदेखि महाकालीसम्मको दूरी १२ घण्टामा समेट्न सक्छौँ । त्यसपछि मात्र हामीले परिकल्पना गरेको १०० बिलियन डलरको अर्थतन्त्र हासिल गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । पूर्वाधार विकासको मापन कति किलोमिटर सडक कालोपत्रे भयो भन्नेमा मात्र सीमित हुनुहुँदैन । देशका विभिन्न भूभागबीचको यात्रा समय कति घटाउन सक्यौँ भन्ने आधारमा पनि यसको मूल्याङ्कन हुनुपर्छ । यसले नै आर्थिक समृद्धिको ढोका खोल्छ भन्ने नेपाल निर्माण व्यवसायी महासङ्घको ठम्याइ छ ।”
उनले पूर्वाधार निर्माणको प्राथमिकता यात्रा समय घटाउने, बजारसम्मको पहुँच विस्तार गर्ने र देशका विभिन्न क्षेत्रबिच आर्थिक अन्तरसम्बन्ध बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । १०० अर्ब डलरको अर्थतन्त्र निर्माणको लक्ष्य केवल आर्थिक सूचकमा सीमित नराखी देशभित्रको भौगोलिक दूरी र आवागमनको समय घटाउने विकाससँग जोड्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्