१०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि पूर्वाधारमा लगानी बढाउनुपर्छः अध्यक्ष पाण्डे


काठमाडौं । नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउन पूर्वाधार क्षेत्रमा लगानी बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्नुपर्ने नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसमा बोल्दै उनले सडक र पुल निर्माणमा मात्र सीमित नभई ऊर्जा, सिँचाइ, औद्योगिक क्षेत्र, डिजिटल सञ्जाल, खानेपानी र सहरी विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए।

अध्यक्ष पाण्डेले लगानी आकर्षित गर्न सरकार परिवर्तन भए पनि नफेरिने नीति, स्पष्ट नियम, समयमै निर्णय र भरपर्दो सार्वजनिक सेवा आवश्यक रहेको उल्लेख गरे। उनले पूर्वाधार निर्माणसँगै सञ्चालन र मर्मतसम्भारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सरकारले नीतिगत स्थिरता र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउनुपर्ने उनको भनाइ छ।

नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी डिसेम्बर ९ र १० गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने भएको छ। नेपाल सरकार, सीएनआई र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनले पूर्वाधार लगानी, उत्पादन र आर्थिक समृद्धिका विषयमा छलफल गर्नेछ।