काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा। रत्नबहादुर बागचन्दले न्यायपालिकालाई संस्थागत ज्ञान, अनुसन्धान र विश्लेषणको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सर्वोच्च अदालतलाई ‘सेन्ट्रल जुडिसियल ब्रेन’ का रूपमा विकास गर्ने प्रस्ताव गरेका छन्। यसका लागि ७७ जिल्ला अदालत र १८ उच्च अदालतका अनुभव तथा ज्ञानलाई एकीकृत गर्नुपर्ने उनको भनाइ छ।
बागचन्दले फैसला कार्यान्वयनका लागि आफ्नो विद्यावारिधि अनुसन्धानमा आधारित पाँचौँ मोडेल पनि प्रस्ताव गरेका छन्। न्यायिक अधिकार सुरक्षित राख्दै कार्यपालिकासँगको समन्वयमा स्रोतसाधन परिचालन गर्ने उक्त मोडेल नेपालजस्ता अल्पविकसित मुलुकका लागि उपयोगी हुने उनको दाबी छ।
त्यस्तै, साइबर अपराध, डिजिटल प्रमाणको सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार प्रयोगमा न्यायपालिकाले ध्यान दिनुपर्ने उनले बताए। एआई प्रयोग गर्दा प्रमाणको विश्वसनीयता, गोपनीयता र मानवीय निगरानी सुनिश्चित गर्नुपर्ने तथा न्यायिक निर्णयको अन्तिम जिम्मेवारी न्यायाधीशमै रहनुपर्ने उनको जोड छ।
न्यायपालिकाको ऐतिहासिक विरासत संरक्षणका लागि राष्ट्रिय न्यायिक संग्रहालय स्थापना गर्नुपर्ने प्रस्तावसमेत उनले गरेका छन्। नियुक्ति भए निष्पक्ष, कारणयुक्त र समयमै न्याय सम्पादन गर्ने तथा मुद्दाको मिसिल पूर्वतयारीलाई व्यवस्थित बनाउने उनको प्रतिबद्धता छ।


प्रतिक्रिया दिनुहोस्