आज धन्वन्तरी जयन्ती मनाइँदै


काठमाडाैँ ।  आज धन्वन्तरी जयन्ती एवम् आराेग्यता दिवस वा धनतेरस मनाइँदैछ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको पूजा आराधना गरेर मनाइन्छ। 

समुन्द्र मन्थनका क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट हुनुभएको थियो। साेही दिनमा धनवन्तरी जयन्ती मनाउने गरिएकाे छ । 

वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीन आयुर्वेद चिकित्सापद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति सम्झनामा देशभर विभिन्न कार्यक्रम गरेर आज धन्वन्तरी जयन्ती र आरोग्यता दिवस मनाउन लागिएको हो।   

तर पछिल्लाे समय भने याे दिनमा नयाँ सामान, सुन, चाँदी, तामा, पित्तलका भाँडाकुँडा, गहना र दीपावलीका लागि आवश्यक सामग्री किन्ने गरिएकाे छ । 

धनतेरसको दिन किनेको सामानले घरमा लक्ष्मीको वास गराउँछ र वर्षभरि धनधान्यको कमी हुँदैन भन्ने जनविश्वास अनुसार किन्ने गरिएकाे हाे । त्रयाेदशीकाे दिन पर्ने भएकाले पनि यसदिनलाइ धनतेरस भन्ने गरिएकाे हाे । धनतेरस यमपञ्चक भित्र पर्दैन । भारतमा 

धन्वन्तरी  जयन्तीमा आयुर्वेदका प्रवर्तक हुनु भएकाले स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने सन्देश दिने भएपनि धन जाेडिएकाले घरमा नयाँ सामान किन्ने चलन बढ्दै गएकाे हाे । 

धनतेरसलाइ स्वास्थ्य, दीर्घायुसँगै समृद्धिको कामना पनि गर्न लागिएकाे हाे । ’धन्वन्तरी’ नामको पहिलो उच्चारण ’धन’ सँग मिल्ने र उहाँ स्वास्थ्य रूपी महाधन लिएर आएकाले यस दिनलाई ’धन’ सँग जोडिएको बताउने गरिन्छ ।

पछिल्लाे समय धनतेरसकाे दिन अम्रिसाेकाे कुचाेकाे व्यापार व्यापकरूपमा हुने गरेकाे छ । धनकी देवी माता लक्ष्मीलाइ सफा चाहिने र घरबाट फाेहाेर हटाउन कुचाे प्रयाेग हुने भएकाले पनि कुचाेकाे बिक्री बढ्दाे अवस्थामा रहेकाे हाे । 

नेपालको आन्तरिक बजारमा मात्रै यसपटक तिहारमा २० करोड रुपैयाँभन्दा बढीको कुचो कारोबार हुने अनुमान गरिएको छ ।

विगतका तथ्याङ्कका आधारमा २० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको नेपाल कुचो सङ्घले जनाएको छ । यस्तै, भारतमा पनि सोही अनुपातमा निर्यात हुने सङ्घको भनाइ छ ।

धन्तेरसदेखि लक्ष्मीपूजासम्मको अवधिमा कुचोको सबैभन्दा बढी कारोबार हुने गर्दछ । सङ्घका अध्यक्ष राजकुमार कार्कीका अनुसार नेपालको आन्तरिक बजारमा वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गर्छ भने भारतमा पनि करिब १ अर्ब रुपैयाँबराबरको निर्यात हुने गरेको छ । उनका अनुसार आन्तरिक तथा निर्यात गरी वर्षभर हुने कुल कारोबारको करिब २० प्रतिशत तिहारकै समयमा हुने गर्दछ ।

उनले भने,“कुचो सनातन कालदेखि नै लक्ष्मीपूजामा पूजा गर्ने प्रचलन छ । लक्ष्मीले सरसफाइ मन पराउने र जहाँ सफा–सुग्घर हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने मान्यताका कारण तिहारमा कुचोको खरिदबिक्री बढ्ने गर्दछ ।”

सङ्घको तथ्याङ्कअनुसार काठमाडौँ, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्जलगायत ठुला सहरमा कुचोको अत्यधिक माग हुने गर्दछ। अध्यक्ष कार्कीले भने, “ग्रामीण क्षेत्रको यकिन तथ्याङ्क हुँदैन, तर तिहारमा देशभरि नै धेरै माग हुने गर्दछ ।”