काठमाडौँ । नेपालका प्रमुख जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा व्यापार र कोषमा फड्को मारे पनि नाफा र प्रतिसेयर आम्दानीमा ओरालो लागेको देखिएको छ ।
कम्पनीहरूको व्यावसायिक आकार, प्रिमियम सङ्कलन र जीवन बीमा कोषमा राम्रो वृद्धि भएको छ तर ठीक विपरीत खुद नाफा र प्रतिसेयर आम्दानी (इपिएस) मा भने गिरावट आएको छ ।
नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी बढाउने नियम ल्याएपछि कम्पनीहरूले हकप्रद र साधारण सेयर जारी गरेका थिए । पुँजी बढ्दा सेयर सङ्ख्या बढे पनि सोही अनुपातमा नाफा बढाउन नसक्दा त्यसको प्रभाव प्रतिसेयर आम्दानी (इपिएस)मा देखिएको छ ।
घट्दो ब्याजदरको मारमा समेत जीवन बीमा कम्पनी परेका छन् । कम्पनीहरूले सङ्कलन गरेको प्रिमियमको ठुलो हिस्सा बैंकिङ प्रणाली र सरकारी बन्डमा लगानी हुने गरेका तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्षमा ब्याजदरहरू निरन्तर ओरालो लाग्दा कम्पनीहरूको लगानी आम्दानी सङ्कुचित भएको छ । यसले प्रत्यक्ष रूपमा खुद नाफामा दबाब सिर्जना गरेको बीमा कम्पनीहरूको वित्तीय प्रतिवेदनले देखाउँछ ।
पहिलो त्रैमासको आर्थिक विश्लेषण हेर्दा आइएमई लाइफ इन्स्योरेन्स इपिएसमा सबैभन्दा अग्रस्थानमा छ । आइएमई लाइफले ११.३० रुपैयाँ इपिएससहित अग्रस्थानमा छ । गत वर्षको तुलनामा १०.८१ प्रतिशतले घटे पनि यो कम्पनीले दोहोरो अङ्कले इपिएस कायम राखेको छ ।
प्रभु महालक्ष्मी लाइफले इपिएसमा छलाङ मारेको छ । प्रभु महालक्ष्मी लाइफको इपिएस ४.८१ रुपैयाँबाट ४५.७४ प्रतिशतले बढेर ७.०१ रुपैयाँ पुगेको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमा नाफा वृद्धिदरमा बाजी मार्ने यो समूहको एकमात्र कम्पनी हो ।
व्यवसायको आकारका हिसाबले ‘सुपरजायन्ट’ मानिएका नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीको पनि इपिएस ओरालो लागेको छ ।
नेपाल लाइफको इपिएस ३२ प्रतिशतले घटेर ६.४८ रुपैयाँ (एकीकृत) हुँदा एलआइसीको ७.५० रुपैयाँमा खुम्चिएको छ । यद्यपी नेपाल लाइफको जीवन बीमा कोष २ खर्ब ६२ अर्ब र एलआइसीको १ खर्ब ५१ अर्ब पुगेको छ । यो विशाल कोष नै कम्पनीको दीर्घकालीन वित्तीय सुरक्षा कवच बनेका छन् ।
मध्यम स्तरका बलिया खेलाडी रहेका सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८.२२ र सिटिजनको ८.०१ रुपैयाँ इपिएस छ । नाफा सङ्कुचनका बावजुद ८ रुपैयाँ हाराहारीको इपिएस कायम राखेका छन् । यी दुवै कम्पनीको प्रिमियम सङ्कलन र जीवन बीमा कोषमा २५ देखि ३५ प्रतिशतसम्मको उच्च वृद्धि भएको छ ।
प्रमुख ६ जीवन बीमा कम्पनीहरूको त्रैमासिक ‘स्कोरकार्ड’
| कम्पनी | चालु आ.व. २०८३/८४ (Q1) इपिएस | अघिल्लो आ.व. २०८२/८३ (Q1) इपिएस | इपिएसको ट्रेन्ड / विश्लेषण |
| आइएमई लाइफ | रु.११.३० | रु.१२.६७ | 📉 १०.८१% घटेको ( |
| सूर्यज्योति लाइफ | रु.८.२२ | रु.९.७८ | 📉 १५.९५% घटेको |
| सिटिजन लाइफ | रु.८.०१ | रु.१०.५२ | 📉 २३.८६% घटेको |
| एलआइसी नेपाल | रु.७.५० | रु.७.८८ | 📉 ४.८२% घटेको |
| प्रभु महालक्ष्मी | रु.७.०१ | रु.४.८१ | 📈 ४५.७४% बढेको (एकमात्र सुधार) |
| नेपाल लाइफ | रु.६.४८ | रु.९.५५ | 📉 ३२.१५% घटेको |


प्रतिक्रिया दिनुहोस्