काठमाडाैँ । मकवानपुरको भीमफेदी चिसापानीमा भएको इभी माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ ।
ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुने सवारी चालक सर्लाही जिल्लाको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेका छन् भने अन्य १० जना मृतक सबै सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा रहेको हुन् ।
दुर्घटनामा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू क्रमशः १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन् । यस्तै ३६ वर्षीय गुड्डु यादव र उनकी श्रीमती ३२ वर्षीया गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा ज्यान गएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विहान मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको इभी माइक्रोबस दुर्घटना भएको थियो । दुर्घटनास्थलमा १० जनाको शब भेटिएको थियो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या भने १४ पुगेको छ। दुर्घटनामा परेको गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्