काठमाडौँ । सरकारले मङ्सिर १ गतेलाई ‘राष्ट्रिय कर’ दिवस मनाउछ । दिवसका अवसरमा आन्तरिक राजस्व विभागले हरेक वर्ष अर्थमन्त्री प्रमुख अतिथि हुने गरी विशेष कार्यक्रम गर्छ ।
कर दिवसको कार्यक्रममा आउन मुख्य सचिव र राष्ट्र बैंकका गभर्नलाई सधै विभागका महानिर्देशक गएर औपचारिक निम्तो दिने चलन छ । यद्यपी मुख्यसचिव र राष्ट्र बैंकका गभर्नर कर दिवसको अवसरमा विगतमा सहभागि हुने गरेका थिएनन् ।
विभागका अधिकारीहरूका अनुसार औपचारिक मन्तब्य राख्न नपाउने भएपछि मुख्य सचिव र राष्ट्र बैंकका गभर्नर आन्तरिक राजस्व विभागको यो कार्यक्रममा सहभागि हुने जाँगर देखाउने गरेका थिएनन् ।
विभागका एक पूर्वमहानिर्देशकले भने,“हामीले नियमित औपचारिक निम्ता दिने गरेका थियौँ तर मुख्य सचिव र गभर्नर कार्यक्रममा आउने गरेका थिएनन् ।”
विभागका महानिर्देशकले निम्ता दिँदा ‘मुख्य सचिव र गभर्नरले मैले बोल्ने छ कि छैन ?’भनेर सोध्ने र बोल्ने सूची नभएको जानकारी नपाएपछि जाने गरेका थिएनन् ।
यसपटक मुख्य सचिव गोविन्दबहादुर कार्की र गभर्नर प्रा.डा. विश्वनाथ पौडेल यसपटकको कर दिवस(मङ्गलबार)को कार्यक्रममा सहभागि भए । कार्यक्रममा सहभागि धेरैको ध्यान गर्भनर पौडेलमाथि थियो ।
विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘बाइपास’ गरेर गभर्नर पौडेलसँग छलफल गरेको,अर्थमन्त्री वाग्ले र गभर्नर पौडेलको सम्बन्ध राम्रो नभएको, केही नीतिगत निर्णयमा मतभेद भएको समाचारहरू सार्वजनिक हुने गरेको थियो ।
त्यसैले कर दिवसको दिन गभर्नर पौडेल कार्यक्रममा सहभागि हुने विषय आश्चर्यजनक थियो ।
गभर्नर पौडेलले कर दिवसको कार्यक्रमलाई पूर्ण समय दिएका थिए । उनले औपचारिक मन्तब्य भने राखेनन् ।
कार्यक्रममा सहभागि एक अधिकारीले भने,“बिगतमा गभर्नरहरू कर दिवसको कार्यक्रममा सहभागि भएको देखिदैन थियो । यसपटक उहाँ(गभर्नर पौडेल) आउनु नै आश्चर्य थियो, अर्को उहाँले पूर्ण समय दिनुभयो ।”
मञ्चमा अर्थमन्त्री र गभर्नर पौडेलबिच खुलेर कुराकानी भएको थियो । कार्यक्रममा सहभागि अर्का कर अधिकारीले भने,“उहाँहरूबिच कार्यक्रम अवधिमा खुलेर कुराकानी भएको देखिन्थ्यो ।” कर दिवसको कार्यक्रमलाई कतिपयले अर्थमन्त्री वाग्ले र गभर्नर पौडेलबिचको सम्बन्ध सुधारको प्रयासको रूपमा बुझेका छन् ।”
यसअघि प्रधानमन्त्री शाहले गभर्नर पौडेलसँग छुट्टै छलफल गर्दा अर्थमन्त्री वाग्लेले कार्यकारी निर्देशकहरूसँग छलफल गरेका थिए । यसै पृष्ठभूमिमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसाल पनि प्रधानमन्त्री शाहको चासोमा विभाग गएको विगतमा चर्चा थियो ।
उनै महानिर्देशक भुसालले अर्थमन्त्री र गभर्नरलाई कर दिवसको मञ्चमा ‘दुर्लभ’ भेट गराएका हुन् भने मुख्यसचिव कार्कीलाई पनि सहभागि गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्