इभी बजारको तीव्र प्रतिस्पर्धाले सिप्रदीमाथि बढ्दो दबाब,प्यासेन्जर सवारीको बिक्री २१ प्रतिशतले घट्यो


काठमाडौँ । । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (इभी) को तीव्र प्रतिस्पर्धा बढ्दै जाँदा अग्रणी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको व्यवसायमा प्रत्यक्ष दबाब देखिएको छ ।

प्यासेन्जर सवारी (पिभी) सँगै कमर्सियल सेगमेन्टमा समेत प्रतिस्पर्धी इभी ब्रान्डहरूको आक्रामक प्रवेश हुन थालेपछि सिप्रदीको सवारी बिक्री र कुल सञ्चालन आम्दानी खुम्चिएको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार तीव्र प्रतिस्पर्धाकै कारण आर्थिक वर्ष २०२६ मा सिप्रदीको प्यासेन्जर सवारीको बिक्री करिब २१ प्रतिशतले घटेको छ । कुल सवारी बिक्री आम्दानीमा करिब ३९ प्रतिशत हिस्सा इभीले ओगटिरहेको अवस्थामा बजारको बढ्दो प्रतिस्पर्धाले कम्पनीलाई चुनौती थपेको इक्राले औंल्याएको छ ।

प्यासेन्जरदेखि कमर्सियल इभीसम्म चिनियाँ ब्रान्डको कडा चुनौती
इक्रा नेपालका अनुसार सिप्रदीले प्यासेन्जर सवारीको इभी सेगमेन्टमा बिवाइडी र एमजीजस्ता ब्रान्डसँग कडा प्रतिस्पर्धा सामना गरिरहेको छ । यस्तै, पेट्रोल–डिजेल सेगमेन्टमा पनि हुन्डाई, किया र सुजुकीको दबदबाले सिप्रदीको बजार हिस्सामा दबाब सिर्जना गरेको छ ।

पछिल्लो समय आधुनिक प्रविधि र उन्नत फिचरसहितका चिनियाँ इभी ब्रान्डहरू लाइट कमर्सियल सवारी (एलसिभी) र छोटा दूरीका सार्वजनिक बसहरूमा समेत भित्रिन थालेका छन् । उपभोक्ताको रुचि क्रमशः विद्युतीय सवारीतर्फ मोडिँदै जाँदा टाटा मोटर्सले समयमै प्रतिस्पर्धी मोडलहरू बजारमा नल्याए सिप्रदीको दशकौं पुरानो कमर्सियल बजारमा समेत दीर्घकालीन जोखिम निम्तिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

इभीको तीव्र प्रतिस्पर्धासँगै सरकारी कर नीति र प्रशासनिक अवरोधले पनि सिप्रदीको कारोबार प्रभावित भएको छ । आर्थिक वर्ष २०२७ देखि लागू भएको मूल्यमा आधारित कर प्रणालीका कारण इभीको मूल्य बढ्दा मागमा असर पर्न सक्ने जोखिम देखिएको छ ।

सन् २०२६ मे महिनादेखि करिब तीन महिनासम्म नयाँ कमर्सियल सवारी आयात तथा दर्तामा लागेको अस्थायी रोक र काठमाडौं उपत्यकाभित्र सार्वजनिक प्यासेन्जर सवारी दर्तामा कायमै रहेको प्रतिबन्धले व्यवसायमा धक्का पु¥याएको छ । चौतर्फी दबाबका कारण कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ को २४ अर्ब ८ करोड २० लाख रुपैयाँबाट घटेर आर्थिक वर्ष २०२६ (अपरिष्कृत) मा २२ अर्ब ९० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।

व्यवसाय टिकाउने मुख्य आधार कमर्सियल सवारी

इभी प्रतिस्पर्धाले प्यासेन्जर सवारीको बिक्री २१ प्रतिशतले ओरालो लाग्दा कम्पनीको व्यवसाय जोगाउने मुख्य आधार भने कमर्सियल सवारी (सिभी) सेगमेन्ट बनेको छ । सन् १९७९ मा स्थापना भई सन् १९८२ देखि टाटा मोटर्सको कमर्सियल सवारी र सन् १९९२ देखि प्यासेन्जर सवारीको आधिकारिक वितरकका रूपमा कार्यरत सिप्रदीले कमर्सियल बजारमा करिब ६६ प्रतिशत हिस्सा ओगट्दै आफ्नो एकछत्र वर्चस्व कायम राखेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०२६ मा कमर्सियल सवारीको बिक्री ६ प्रतिशतले वृद्धि हुँदा प्यासेन्जर सेगमेन्टको क्षति पूर्ति गर्न मद्दत पुगेको इक्राले जनाएको छ । देशभर १० वटा आफ्नै सोरुम र १४ वटा डिलर आउटलेटसहित २४ वटा बिक्री केन्द्रको बलियो सञ्जाल, सन् २००० देखिको एक्साइड ब्याट्री, सन् २००२ देखिको म्याक लुब्रिकेन्ट्स तथा वर्कसप सेवाबाट हुने नियमित आम्दानीले कम्पनीलाई भरथेग गरेको छ । साथै, पछिल्लो समयका ठुला विपद्पछिको पुनर्निर्माण अभियानले कमर्सियल सवारीको माग अझै बढ्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आम्दानी घट्दा पनि नाफा मार्जिनमा सुधार
बजारको तीव्र प्रतिस्पर्धाका बावजुद कुशल वित्तीय व्यवस्थापनका कारण इक्रा नेपालले सिप्रदीको १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जा सीमाको रेटिङ कायम गरेको छ ।

इक्राले दीर्घकालीन कर्जा सीमालाई ‘इक्राएनपी एलबीबीबी माइनस’ र अल्पकालीन कर्जा सीमालाई ‘इक्राएनपी एथ्री’ रेटिङमै कायम राखेको हो । कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जा र सोही सीमाभित्र रहने गरी २९ करोड ८० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

समीक्षा अवधिमा कुल आम्दानी घटे पनि खर्च नियन्त्रण र मार्जिन दबाब कम भएसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपिएम) अघिल्लो वर्षको २.७ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ । नाफा मार्जिनमा सुधार, घट्दो ब्याजदर र कर्जाको भार कम हुँदै जाँदा कम्पनीको ऋण तिर्ने क्षमता (डिएससिआर) २.८ गुणाबाट सुधार भई ४.४ गुणा पुगेको छ ।

त्यस्तै, कुल ऋण र नेटवर्थको अनुपात (गियरिङ) ०.६ गुणाबाट घटेर ०.३ गुणामा झरेको छ भने चालु पुँजीमा ५५ प्रतिशत तरलता सुविधा उपलब्ध रहेकाले कम्पनी सहज अवस्थामा देखिएको छ। सिद्धार्थ शमशेर जबरा अध्यक्ष रहेको सिप्रदी ग्रुपको मुख्य कम्पनी सिप्रदी ट्रेडिङले सहायक तथा भगिनी संस्थाहरूका लागि ठुलो परिमाणमा कर्पोरेट ग्यारेन्टी जारी गरे पनि समूहअन्तर्गतको सिप्रदी हायर पर्चेज प्रालि (रेटिङ एलबिबी प्लस) को वित्तीय अवस्था सुधारोन्मुख रहेकाले तत्काल ठुलो वित्तीय दबाब नपर्ने इक्राको विश्लेषण छ ।