काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले सार्वजनिक गरेको बिक्री खुला पत्रअनुसार आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि मंसिर १४ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा पुस १४ गतेसम्म म्याद थप हुनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर १४ देखि १७ गतेसम्म आईपीओ खुला हुनेछ। यस अवधिमा पूर्ण आवेदन नपरेमा मंसिर २८ गतेसम्म म्याद थप गर्न सकिनेछ।
कम्पनीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ। यसको २० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। जसमध्ये ६ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी ६ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणतर्फ छुट्याइएको ६ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन हुनेछ।
दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
आईसीआरए नेपालले कम्पनीको जारीकर्ता रेटिङ ICRANP-IR BBB प्रदान गरेकाे छ । यसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम सुरक्षा र मध्यम कर्जा जोखिम रहेको संकेत गर्छ।
सन् २०१८ मा स्थापना भएको आशुतोष इनर्जी सन् २०२२ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले लमजुङमा ८।६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाले सन् २०२२ अक्टोबरदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।
कम्पनीले थप २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब ४३ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको २०८३ असार मध्यसम्म करिब ६८ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीसम्बन्धी विवरणमा उल्लेख छ।
आईपीओबाट प्राप्त रकम ऋणको भार घटाउन प्रयोग गर्ने कम्पनीको योजना छ।


प्रतिक्रिया दिनुहोस्