नेपाल लाइफ क्यापिटलको समृद्धि योजनामा व्यवस्थापकको रजाइँ,लगानीकर्ताको मूलधन नै सङ्कटमा


काठमाडौँ । नेपाल लाइफ क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ अर्ब रुपैयाँ आकारको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्म आइपुग्दा पनि लगानीकर्ताको अङ्कित मूल्य जोगाउन सकेको छैन ।

नेपाल लाइफ क्यापिटलको मुख्य प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हो ।

कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) ९ रुपैयाँ ९६ पैसामा सीमित छ । भदौ मसान्तमा ९ रुपैयाँ ७६ पैसा रहेको न्याभ २० पैसाले सुधार भए पनि अझै १० रुपैयाँको प्रारम्भिक निष्कासन मूल्यभन्दा तल रहनुले कोषको कमजोर कार्यसम्पादन झल्काएको छ ।

कोषले आर्जन गरेको आम्दानीको आधाभन्दा बढी हिस्सा व्यवस्थापन तथा अन्य शुल्कमै खर्च भएको देखिएको छ । तीन महिनाको अवधिमा फन्डले १ करोड ७० लाख ३२ हजार रुपैयाँ आम्दानी गरेकोमा ९० लाख ९८ हजार रुपैयाँ अर्थात् कुल आम्दानीको ५३.४१ प्रतिशत सञ्चालन खर्चमा खर्चिएको छ ।

यसमध्ये योजना व्यवस्थापक शुल्क ७५ लाख ३३ हजार रुपैयाँ, डिपोजिटरी शुल्क १० लाख ४ हजार रुपैयाँ र सुपरिवेक्षक शुल्क ३ लाख ७५ हजार रुपैयाँ रहेको छ । यसले लगानीकर्ताको प्रतिफलभन्दा व्यवस्थापकीय शुल्क सुरक्षित देखिएको टिप्पणी गर्न सकिने अवस्था सिर्जना गरेको छ ।

कोषको नाफाको गुणस्तरमाथि समेत प्रश्न उठ्ने आधार देखिएको छ । असोज मसान्तसम्म ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा देखिए पनि त्यसको ठुलो हिस्सा ९४ लाख ३२ हजार रुपैयाँ बराबरको अप्राप्त आम्दानी अर्थात् सेयर बजारको मूल्य उतारचढावका कारण कागजमा देखिएको नाफा हो ।

वास्तविक रूपमा प्राप्त भएको नगद आम्दानी ७६ लाख रुपैयाँ मात्र रहेको छ, जुन कोषको त्रैमासिक सञ्चालन खर्च ९० लाख ९८ हजार रुपैयाँभन्दा कम हो। अर्थात् प्राप्त नगद आम्दानीले खर्चसमेत धान्न नसकेको अवस्था देखिन्छ ।

लगानी परिचालन रणनीति पनि अत्यधिक रक्षात्मक देखिएको छ । कुल २ अर्ब रुपैयाँको कोषमध्ये ४४ करोड ७२ लाख ६४ हजार रुपैयाँ अर्थात् करिब २२.४ प्रतिशत रकम कुनै पनि प्रतिफलमुखी क्षेत्रमा परिचालन नगरी बैंक मौज्दातमै राखिएको छ ।

फन्डले सूचीकृत तथा असूचीकृत सेयरमा कुल १ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । जसमध्ये वाणिज्य बैंक समूहमा ३८ करोड ८३ लाख रुपैयाँ, लघुवित्त क्षेत्रमा २५ करोड ४७ लाख रुपैयाँ, उत्पादन तथा प्रशोधन क्षेत्रमा २३ करोड ३२ लाख रुपैयाँ तथा जलविद्युत् क्षेत्रमा १७ करोड ४ लाख रुपैयाँ लगानी केन्द्रित रहेको छ ।

कम्पनीगत रूपमा हेर्दा कोषको सबैभन्दा ठूलो लगानी हिमालयन डिष्टिलरीमा १० करोड १ लाख रुपैयाँ रहेको छ । त्यस्तै एभरेष्ट बैंकमा ७ करोड ८६ लाख रुपैयाँ, छिमेक लघुवित्तमा ७ करोड ६ लाख रुपैयाँ, नबिल बैंकमा ६ करोड ६७ लाख रुपैयाँ तथा नेपाल लाइफ इन्स्योरेन्सकै सेयरमा ५ करोड ६० लाख रुपैयाँ लगानी गरिएको छ ।

ठुला तथा स्थापित कम्पनीमा लगानी केन्द्रित भए पनि ठुलो रकम बैंक मौज्दातमै निष्क्रिय राखिनु र अपेक्षाकृत सुस्त क्षेत्रहरूमा पुँजी केन्द्रित हुनुका कारण कोषको समग्र प्रतिफल उत्साहजनक बन्न नसकेको देखिन्छ ।

दोस्रो बजारमा योजनाको इकाई मूल्य करिब ९ रुपैयाँ ११ पैसाको हाराहारीमा कारोबार भइरहनुले पनि लगानीकर्ताको धारणा सकारात्मक नरहेको सङ्केत गर्छ ।

बजार मूल्य न्याभभन्दा करिब ९ प्रतिशत कममा कारोबार हुनु लगानीकर्ताबिच योजनाप्रतिको आकर्षण कमजोर रहेको प्रमाणका रूपमा हेरिएको छ ।

२ अर्ब रुपैयाँ सङ्कलन गरेको यो बन्दमुखी योजना कागजी रूपमा नाफामा देखिए पनि न्याभको अवस्था, आम्दानीको ठुलो हिस्सा शुल्कमै खर्चिनु, खर्च धान्न नसक्ने नगद आम्दानी तथा ठुलो रकम निष्क्रिय राखिएको तथ्यले यसको व्यवस्थापन प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक कृष्णराज लामिछाने नेपाल लाइफ क्यापिटलको अध्यक्ष छन् भने नायब प्रमुख कार्यकारी अधिकृत अमित केयाल सञ्चालक रहेका छन् । नेपाल लाइफ क्यापिटल लिमिटेडले मंसिर २५ गते आफ्नो १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको मङ्सिर २ गते बसेको सञ्चालक समितिको १२८औं बैठकले शुक्रबार बिहान ११ बजे काठमाडौँमा सभा गर्ने निर्णय गरेको हो ।