सन् १९७० को दशकमा भारतको रक्सौलका चर्चित लेखक, शिक्षक तथा पत्रकार स्व. कन्हैया प्रसाद (कन्हैया बाबु) ले नेपाल–भारतबीच त्यसबेला हुने तस्करीबारे उल्लेखनीय विषयहरू उठान गरेका छन्।
एकातिर भारतमा इन्दिरा गान्धीको नेतृत्वमा कडा ‘लाइसेन्स राज’ र आयात प्रतिबन्धको नीति लागू थियो भने अर्कोतिर नेपालमा पञ्चायती शासनकालमा तेस्रो मुलुकसँगको व्यापार विविधीकरण तथा बोनस भाउचर प्रणालीमार्फत विदेशी वस्तुहरूको आयातलाई प्रोत्साहन दिइएको थियो। यही नीतिगत विरोधाभासले नेपाल–भारतको खुला सिमाना, विशेषगरी वीरगन्ज–रक्सौल नाकालाई तस्करीको सबैभन्दा ठूलो केन्द्रमा परिणत गरिदिएको थियो।
यही ऐतिहासिक परिवेशलाई नजिकबाट नियालेर कलम चलाउने एक साक्षी थिए— भारत, बिहारको सीमावर्ती सहर रक्सौलका प्रतिष्ठित शिक्षक, पत्रकार एवं इतिहासकार स्व. कन्हैया प्रसाद (जसलाई स्थानीय स्तरमा आदरपूर्वक ‘कन्हैया बाबु’ भनिन्थ्यो)। सन् १९३७ मा जन्मिएर रक्सौलको हजारीमल हाई स्कुलमा चार दशकभन्दा लामो समय अध्यापन गरेका कन्हैया प्रसादले सन् १९७० को दशकको उत्तरार्धमा (सन् १९७९ मा प्रकाशित) आफ्नो पुस्तक ‘रक्सौल : अतीत और वर्तमान’ मार्फत त्यसबेलाको सीमावर्ती समाज, अर्थतन्त्र र तस्करीको भयावह चित्रलाई जीवन्त रूपमा दस्तावेजीकरण गरेका छन्।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र सन् १९५४ पछि नेपालमा चीन, जापान, कोरिया, रुस र अमेरिका जस्ता मुलुकबाट विदेशी सामानहरूको ओइरो लाग्न थालेपछि वीरगन्ज सहर भारतका लागि ‘छोटा हङकङ’ बन्न पुगेको थियो। भारतमा विदेशी पोलिस्टर कपडा, घडी, रेडियो, शृङ्गारका प्रसाधन र चिनियाँ सामानहरूमाथि कडा प्रतिबन्ध वा उच्च भन्सार दर भएकाले भारतीय बजारमा यस्ता वस्तुहरूको अत्यधिक माग थियो। नेपालको सानो जनसङ्ख्याले खपत गर्नै नसक्ने परिमाणमा भित्रिएका अर्बौँ रुपैयाँका विदेशी सामानहरूमध्ये करिब ७५ प्रतिशत हिस्सा अवैध बाटो हुँदै भारतीय भूमिमा पुग्ने गरेको तथ्य कन्हैया प्रसादले उल्लेख गरेका छन्।
अझ रोचक त के छ भने, त्यसबेला तस्करी केवल व्यावसायिक गिरोहमा मात्र सीमित थिएन; बम्बई, दिल्ली, चण्डीगढ र बनारसका हतियारधारी तस्कर गिरोहदेखि लिएर रक्सौलका सामान्य ‘क्यारियर्स’ (भरिया) र स्वयं सरकारी ‘निरीक्षण’ का नाममा सीमा क्षेत्रमा आउने बिहार तथा उत्तर प्रदेशका उच्च पदस्थ अधिकारीहरूसमेत वीरगन्जको बजारबाट विदेशी सामान ओसार्न तँछाडमछाड गर्थे।
त्यसबेलाको तस्करीको कथा जस्ताको त्यस्तै:
भारत र नेपालको एक लामो सिमाना बिल्कुलै खुला छ। अतः भारतबाट नेपाल र नेपालबाट भारतमा हुने तस्करीलाई रोक्न सक्नु निकै कठिन छ।
हुन त, तस्करीको वास्तविककथा सन् १९५४ पछिबाट सुरु हुन्छ, जब नेपालमा विदेशी वस्तुहरू धमाधम आउन थाले। तर, यसभन्दा पूर्व पनि तस्करी हुने गर्थ्यो, यद्यपि त्यसको मात्रा अत्यल्प (निकै कम) थियो। सन् १९२३ मा भारत र नेपालबीच भएको सन्धिअनुसार भारतबाट ‘काठमाडौँ’ का लागि कर-मुक्त निर्यातको व्यवस्था थियो। ती वस्तुहरूमा नेपालमा आयात-कर निकै मामूली थियो। अतः कतिपय वस्तुहरूको तस्करी भारततर्फ भइहाल्थ्यो। भारतीय क्षेत्रमा कपडामा ‘कन्ट्रोल’ (नियन्त्रण) लगाइएको जमानामा वीरगन्जबाट रक्सौलमा कसरी छिटपुट रूपमा कपडाको तस्करी हुन्थ्यो, त्यो आज पनि धेरैलाई याद छ। दुवै देशबीच सन् १९५० मा भएको सन्धिपछि नेपाल सरकारले भारतबाट आयातित वस्तुहरूमा आयात करको दर बढायो। अतः यस प्रकारका वस्तुहरूको तस्करीमा कमी आयो।
एक लामो अवधिसम्म गाँजा र अफिमको तस्करीका लागि यो क्षेत्र निकै बदनाम रह्यो। सस्तो नेपाली गाँजा नेपालको सिमानासँग सटेका रक्सौल, भेलाही, सिकटा, आदापुर, घोडासहन जस्ता भारतीय क्षेत्रहरूबाट निस्किएर भारतका दूर-दराजका स्थानहरूमा पुग्थ्यो र तस्करहरूलाई भारी मुनाफा दिन्थ्यो। ती दिनहरूमा यस सीमा-भूमिको यस इलाकामा यस्ता तस्करहरूको जालो नै बिछ्याइएको थियो। तस्करीका पनि कस्ता-कस्ता नायाब (अनौठा) तरिकाहरू थिए! एउटा तरिका विफल हुन्थ्यो कि तस्करहरू अर्को नयाँ तरिकाको आविष्कार गरिहाल्थे। ती दिनहरूमा रक्सौलमा यस्ता दिलचस्प तरिकाहरूको चर्चा बराबर सुन्नमा आउँथ्यो।
नेपाली गाँजाको भारतमा बढ्दो तस्करीबाट भारत सरकार चिन्तित भयो। भनिन्छ, भारत सरकारले चिन्ता व्यक्त गरेपछि नेपाल सरकारले नेपालमा हुने खुलेआम गाँजा खेतीमा प्रतिबन्ध लगाउने निश्चय गर्यो। कोइराला मन्त्रिमण्डलको समयमा यसमाथि प्रतिबन्ध लाग्यो। फेरि पनि, त्यसको धेरै दिन पछिसम्म पनि गाँजाको तस्करी धमाधम भइरह्यो। जुन व्यक्तिहरूले गाँजाको ठूलो मात्रा लुकाएर राखेका थिए, उनीहरू अधिक मुनाफा लिएर तस्करी गर्न सफल भए।
आज पनि अखबारहरूमा ‘नेपाली गाँजा बरामद’ जस्ता खबर देख्न पाइन्छ तथा रक्सौलस्थित आबकारी (अन्तःशुल्क) थानाको पकडमा यदाकदा यस्ता तस्करहरू आउने गर्छन्। यद्यपि, अधिकांश तस्करहरू बच्न सफल हुन्छन्, किनकि माथि भनिएझैँ उनीहरूका तरिका निकै नायाब हुन्छन्।
भनिन्छ, नेपालमा दुई पहाडहरूको बिचमा, जहाँ प्रहरी मुस्किलले पुग्न सक्छ, वा खेतका ठूला ‘प्लट’ हरूमा उखु आदिको बीचमा लुकाएर आज पनि गाँजाको खेती गरिन्छ र यसरी उब्जिएको सस्तो गाँजाको तस्करी भारतमा हुन्छ। तर, निश्चय नै रक्सौलमा गाँजाको तस्करी गर्नेहरूको संख्यामा भारी कमी आएको छ।
माथि भनिएझैँ वास्तविक तस्करीको कथा सन् १९५४ पछिबाट सुरु हुन्छ। जति-जति विदेशी वस्तुहरूको मात्रा नेपालमा बढ्दै गयो, त्यति-त्यति तस्करीले भयंकर रूप लिँदै गयो।
काठमाडौँपछि रक्सौलसँग सटेको वीरगन्ज यी विदेशी वस्तुहरूको ठूलो भण्डार हो, जहाँ पचासौँ पसलहरूमा अर्बौँ रुपैयाँका विदेशी वस्तुहरू खाँदिएर रहेका छन्। चीन, जापान, कोरिया, रुस, अमेरिका जस्ता देशहरूबाट आउने पोलिस्टर र टेरीकटन कपडा, शृङ्गार-प्रसाधन तथा अन्य जीवनोपयोगी वस्तुहरूका कारण वीरगन्ज ‘छोटा हङकङ’ बनेको छ। एक अनुमानअनुसार लगभग ७५ प्रतिशत यस्ता वस्तुहरूको तस्करी भारतीय प्रदेशमा हुने गर्छ। सानो देश नेपाल, जहाँ यस्ता वस्तुहरूको उपयोग गर्ने मानिसहरूको संख्या अत्यल्प छ, नेपालमा भित्रिने विदेशी वस्तुहरूको यति ठूलो मात्राको उपयोग स्वयं कदापि गर्न सक्दैन। अतः यसको तस्करी हुनु स्वाभाविक नै हो।
सिमानामा स्थित भारतीय कस्टम्स चेकपोस्ट, रक्सौलद्वारा कडा निगरानीका बाबजुद मुख्य मार्गबाट केही-न-केही तस्करी भइहाल्छ। रक्सौल तथा वरपर का इलाकाका बिसौँ मानिसहरू यस तस्करीको धन्दामा लागेका छन्, जसको काम वीरगन्जमा किनिएको विदेशी माललाई सिमाना ‘टपाउनु’ (कटाउनु) हुन्छ। माथि भनिएको छ कि दुवै देशको सिमाना खुला छ, त्यसैले यस्ता ‘क्यारियर्स’ मुख्य मार्गबाट, जहाँ ठीक सिमानामा कस्टम्स चेकपोस्ट स्थित छ, आउँदैनन्। फेरि पनि, मुख्य मार्गबाट यात्रीहरूद्वारा केही-न-केही तस्करी भइहाल्छ। यस्तो पनि सुन्नमा आउँछ कि मुख्य मार्गबाट गुज्रिने विदेशीहरूबाट समेत कहिलेकाहीँ ‘क्यारियर्स’ को काम लिइन्छ।
यस तथ्यबाट इन्कार गर्न सकिँदैन कि रक्सौलमा पदस्थापित यस विभागका सहायक कस्टम्स कलेक्टर श्री वासुदेवको परिश्रम र मुस्तैदीका कारण मुख्य मार्गबाट हुने तस्करीमा ठूलो कमी आएको छ। तर, यो पनि सुनिन्छ कि उनको अनुपस्थिति र अनजानमा ठूला-ठूला तस्करहरू ठूलो पैमानामा यसै मार्गबाट तस्करी गर्न सफल हुन्छन्।
मुख्य मार्गबाट हटेर खुला सिमानाद्वारा तस्करी अधिक हुन्छ। रक्सौलस्थित प्रिवेन्टिभ कस्टम्स चेकपोस्ट आफ्नो क्षेत्रअन्तर्गत पर्ने लामो खुला सिमानामा आफ्ना सीमित साधनहरू (आवश्यकताअनुरूप सिपाही आदिको संख्या कम बताइन्छ) बाट बृहत् पैमानामा हुने तस्करीलाई रोक्न असमर्थ छ।
यो सही हो कि ठूलो पैमानामा तस्करी गर्ने मानिसहरूको संख्या रक्सौलमा कम छ। यस्ता मानिसहरू त दूर-दराजका स्थानहरूसँग सम्बद्ध छन्, जो रक्सौलका होटेल आदिमा कहिलेकाहीँ अजनबी (अपरिचित) का रूपमा देखा पर्छन्। रक्सौलका कैयौँ प्रमुख होटेलहरूमा छापा मारेर तस्करीका यस्ता सामान बरामद गरिएका छन्।
ठूलो अनुपातमा तस्करी गर्नेहरूको सम्बन्ध बम्बई, चण्डीगढ, बनारस, दिल्ली जस्ता स्थानका तस्कर गिरोहहरूसँग छ, जसका हात निकै बलिया छन्। ‘पेस्तोल’ र ‘गन’ आदिले सुसज्जित यी गिरोहहरूसँग पार पाउन कहिलेकाहीँ कस्टम्स प्रहरीका लागि समेत मुस्किल पर्छ।
वीरगन्जबाट हुने विदेशी वस्तुहरूको तस्करीका सन्दर्भमा यो भन्नु युक्तिसङ्गत नहोला कि यसरी तस्करी गरिएका वस्तुहरूमध्ये कैयौँ वस्तुहरू निकै घटिया किस्मका हुन्छन्। यो पनि सुन्नमा आउँछ कि भारतीय कपडा तथा कैयौँ जीवनोपयोगी वस्तुहरू वीरगन्जमा, जब तिनमा विदेशी मोहर लाग्छ, अपेक्षाकृत अधिक मूल्यमा विदेशी वस्तुका नाममा बिक्छन्। वीरगन्जको बजारमा धेरैजसो ‘डुप्लीकेट’ वस्तुहरू भरिभराउ छन्।
वीरगन्जमा विदेशी वस्तुहरूको खरिदका लागि बिहारका दूरस्थ स्थानहरूबाट आउने विभिन्न तप्काका मानिसहरू, जसमा सरकारी अधिकारीहरू पनि हुन्छन्, लाई रक्सौलमा देख्न सकिन्छ। रक्सौलका विभिन्न विभागहरूमा ‘निरीक्षण’ का नाममा आउने अधिकारीहरूको संख्या अपेक्षाकृत अधिक हुन्छ। निरीक्षण कम, वीरगन्जमा सामान खरिद गर्ने काम अधिक हुन्छ। सच्चाइ यो हो कि रक्सौलका कैयौँ मानिसहरूलाई आफ्ना साथीभाइ अथवा आफ्नो विभागका उच्च पदस्थ अधिकारीहरूका लागि नचाहँदा-नचाहँदै पनि तस्करी गर्न बाध्य हुनुपर्छ।
नेपालका भूतपूर्व भारतीय राजदूत श्री श्रीमन्नारायणले आफ्नो पुस्तक ‘इन्डिया एन्ड नेपाल’ (सन् १९६५) मा यस तस्करीका सन्दर्भमा लेखेका छन्- “यी विदेशी वस्तुहरू नेपालका विभिन्न सहरहरूमा, खासगरी भारतीय सिमानाको निकट मुक्त रूपले बिक्छन्। यसबाट भारतीय सिमानापारि तस्करीलाई पर्याप्त बल मिल्छ। तर, यो अजिब विचित्र कुरा हो कि भारतबाट जाने मानिसहरू काठमाडौँका बजारहरूमा चिनियाँ वस्तुहरू किन्नका लागि टुटेर पर्छन्, जबकि भारतीय वस्तुहरूभन्दा ती निम्न कोटिका हुन्छन् र चीनसँग हाम्रो सम्बन्ध पनि दोस्ताना छैन। यसको विपरीत काठमाडौँमा रहने चिनियाँहरू कहिल्यै पनि भारतीय वस्तुहरूलाई प्रश्रय दिँदैनन्। एकपटक मलाई भनिएको थियो कि एक चिनियाँ प्राविधिकले, जसले गल्तीले भारतीय चुरोटको बट्टा किनेका थिए, थाहा पाउनेबित्तिकै चुरोटलाई सडकमा फालिदिए र तिनलाई पैतालामुनि कुल्चिदिए।” यसै पुस्तकमा उनले अगाडि लेखेका छन्- “मलाई विश्वस्त रूपले सूचित के गरिएको छ भने बिहार र उत्तर प्रदेश सरकारका वरिष्ठ अधिकारीहरू पनि नेपालबाट भारतमा यिनै चिनियाँ वस्तुहरूको तस्करीमा लागेका छन्।”
समय-समयमा चिनी, कोइला जस्ता वस्तुहरूको तस्करी कसरी हुन्छ, रक्सौलका मानिसहरूलाई आएदिन (दिनहुँजसो) देख्ने मौका मिल्छ। आजभन्दा लगभग तीन वर्ष पूर्व, जब हाम्रोतिर चिनीको अभाव भएको थियो, तब कसरी महिनौँसम्म प्रत्येक बिहान वीरगन्जबाट चिनी बोक्नेहरूको रक्सौलमा ताँती लाग्थ्यो, यसलाई हामीले स्वयं देखेका छौँ। यसैगरी कोइलाको अभावको समयमा रक्सौलबाट वीरगन्ज कोइला बोक्ने अनेकौँ मजदुरहरूलाई मानिसहरूले देखेका होलान्। यस खुला सिमानाबाट यस प्रकारको तस्करीलाई रोक्न सक्नु सचमुच निकै कठिन छ।
यसै सन्दर्भमा यहाँ यो उल्लेख गरिदिनु अप्रासङ्गिक नहोला-रक्सौलमा नेपालका नाममा कैयौँ वस्तुहरू मगाइन्छन्, जुन नेपाल जाँदैनन् र यसरी कर बचाइन्छ।
(रक्सौल : अतीत और वर्त्तमान, सन् १९७९ बाट साभार)


प्रतिक्रिया दिनुहोस्