काठमाडौँ । म्युचुअल फन्डमार्फत आकर्षक प्रतिफलको आशा गरेका लगानीकर्ता पुराना योजनाबाटै निराश भइरहेका बेला सिटिजन्स क्यापिटल लिमिटेडलाई नयाँ फन्ड बिक्री गर्न समेत सकस परेको छ ।
पुराना योजनाको कमजोर प्रदर्शन र दोस्रो बजारमा प्रतिइकाई १० रुपैयाँ (आइपिओको मूल्य) भन्दा कम मूल्यमा रहँदा नयाँ योजना ‘सिटिजन्स सुपर ५०’ लाई लगानीकर्ताले रुचाएको देखिएन ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धन तथा सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुन लागेको १ अर्ब रुपैयाँ बराबरको बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्रीमा लगानीकर्ताको उत्साहजनक सहभागिता नदेखिएपछि आवेदन दिने म्याद थप गरिएको छ ।
सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले मङ्सिर २ गतेदेखि इकाई बिक्री खुला गरेको थियो ।
छिटोमा मङ्सिर ७ गतेसम्मको अवधिमा माग बमोजिम दरखास्त प्राप्त नभएपछि म्याद लम्ब्याएर ढिलोमा मङ्सिर १६ गतेसम्म पुर्याइएको हो ।
यद्यपि, मङ्सिर १६ गते अगावै मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा सोही दिन निष्काशन तथा बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिइकाई अङ्कित मूल्य १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशन गरेको छ । जसमध्ये कोष प्रवर्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई (१५ करोड रुपैयाँ बराबर) बीज पुँजी बापत सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणालीमार्फत न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
हाल दोस्रो बजार (नेप्से) मा सूचीकृत भइसकेका अधिकांश पुराना म्युचुअल फन्डहरूको बजार मूल्य प्रतिइकाई अङ्कित मूल्य १० रुपैयाँभन्दा कममा कारोबार भइरहेकाले लगानीकर्ताहरू प्राथमिक बजारमा आकर्षित हुन नसकेको देखिएको छ ।
क्यापिटलले सञ्चालन गरेका पुराना योजनाको कमजोर प्रर्दशनले लगानीकर्तालाई नयाँ योजनामा थप पैसा लगानी गर्न अघि सोच्न बाध्य बनाएको देखिन्छ । प्राथमिक निष्काशनमा १० रुपैयाँ तिरेर इकाई किन्नुभन्दा दोस्रो बजारबाट सस्तोमा खरिद गर्न सकिने विकल्प लगानीकर्तासँग छ ।
विगतका वर्षहरूमा म्युचुअल फन्डहरूले अपेक्षाकृत लाभांश दिन नसक्नु र साना लगानीकर्तासमेत आफैँ प्रत्यक्ष सेयर कारोबारमा अभ्यस्त हुनुले नयाँ फन्डहरूको बिक्री सुस्ताएको अनुमान विश्लेषकहरूको छ ।
निष्काशन बन्द हुने अन्तिम दिनतिर बैंक, बीमा कम्पनी तथा विभिन्न कोषहरूजस्ता संस्थागत लगानीकर्ताको सहभागिता रहने भएकाले मङ्सिर १६ गतेसम्ममा यो योजनाको इकाई पूर्ण रूपमा बिक्री हुने अपेक्षा क्यापिटलले गरेको छ ।
चलिरहेका फन्डको कमजोर प्रर्दशन
सिटिजन्स क्यापिटल लिमिटेडले अहिले व्यवस्थापन गरिरहेका पुराना म्युचुअल फन्ड (सामूहिक लगानी कोष) को प्रदर्शन कमजोर देखिएको छ ।
हाल सञ्चालनमा रहेका तीनओटै फन्डको असोज मसान्तसम्मको वित्तीय विवरणले लगानीकर्तालाई निराश बनाएको छ ।
सार्वजनिक विवरणअनुसार सञ्चालनमा रहेका तीनमध्ये दुईओटा योजनाको मूल्य सुरुवाती अङ्कित मूल्य (रु. १०) कै आसपासमा अल्झिएको छ भने एउटा योजनाको सुरुवाती पुँजीमै नोक्सानी देखिएको छ ।
असोज मसान्तको तथ्याङ्कअनुसार बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ को प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) रु. ९.६१ मा झरेको छ ।
१ अर्ब २५ करोड रुपैयाँ पुँजी रहेको यो योजनाको कुल सम्पत्ति घटेर १ अर्ब २० करोड १२ लाख ५० हजार रुपैयाँमा खुम्चिएको हो । अर्थात्, यस योजनामा लगानी गर्ने सर्वसाधारणको ४ करोड ८७ लाख ५० हजार रुपैयाँ (करिब पौने ५ करोड) सुरुवाती पुँजी नै गुमिसकेको छ ।
त्यसैगरी, सेयर बजारका उत्कृष्ट ३० कम्पनीमा लगानी गर्ने भनिएको ‘सिटिजन्स सुपर ३०’ को असोज मसान्तको मूल्य रु. १०.०१ छ । भदौमा रु. १०.४५ रहेको यसको मूल्य असोज १६ गते लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिएपछि समायोजन भई पुनः सुरुवाती मूल्य (रु. १०) कै बिन्दुमा झरेको हो ।
अर्को खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ को असोज मसान्तको मूल्य रु. १०.१० रहेको छ । करिब ७१ करोड ३५ लाख रुपैयाँ सम्पत्ति रहेको यो योजनाले पछिल्लो समय जलविद्युत् क्षेत्रका सेयरमा लगानी बढाएको छ ।
लगानीकर्ता निराश, व्यवस्थापकलाई नियमित शुल्क
क्यापिटलले सञ्चालन गरेको फन्डहरुको वित्तीय विवरणलाई नियाल्दा म्युचुअल फन्डमा लगानी गर्ने सर्वसाधारणले महँगी (मुद्रास्फीति) समेत धान्न नसक्ने प्रतिफल पाएका छन् । बैंकको साधारण बचत र मुद्दती निक्षेपमै ५ देखि ७ प्रतिशतसम्म ब्याज पाइने अवस्थामा ‘सुपर ३०’ ले दिएको ५.२५ प्रतिशत लाभांश निकै कमजोर हो ।
त्यसमाथि, सेयर बजार (नेप्से) मा सूचीकृत ‘सुपर ३०’ (रु. ९.४५) र ‘सन्तुलित योजना’ (रु. ८.८८) दुवैको कारोबार रु. १० भन्दा सस्तोमा भइरहेको छ । यसले सुरुमा रु. १० हालेर किनेका लगानीकर्तालाई बिचमा पैसा खाँचो परेर बेच्नुपर्दा ५.५ देखि ११.२ प्रतिशतसम्म सिधै घाटा व्यहोर्नुपर्ने बाध्यता छ ।
योजना घाटामा जाँदा वा थोरै नाफा कमाउँदा पनि कोष व्यवस्थापक सिटिजन्स क्यापिटलले वार्षिक करिब १.५ देखि २ प्रतिशतसम्म व्यवस्थापन शुल्क भने नियमित काटिरहन्छ ।
सर्वसाधारण लगानीकर्ताले प्रतिफल नपाइरहँदा क्यापिटल स्वयंले भने असोज १९ गते सम्पन्न वार्षिक साधारणसभाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्