व्यावसायिक वातावरणलाई सहज पार्न राजश्व चुहावट सम्बन्धि कानून खारेज गर्न लागिएको होः दाहाल


काठमाडाैँ । अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था खारेज गर्ने प्रस्ताव अघि बढाएको छ । व्यावसायिक वातावरणलाई सहज र विश्वसनीय बनाउने, कानुनी दोहोरोपन हटाउने तथा विद्यमान कानुनी जटिलता न्युनिकरण गर्ने उद्देश्यले यस्तो प्रस्ताव अघि बढाइएको अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले बताए ।

प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलका क्रममा दाहालले विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदन, विशेषगरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागका आधारमा ऐन संशोधन तथा खारेजीको प्रश्ताव अघि बढाइएको जानकारी दिए । 

उनकाअनुसार हाल राजस्व चुहावट नियन्त्रणसम्बन्धी कानूनी व्यवस्थामा रहेका विषयहरूलाई सम्बन्धित कानुनमै समेट्ने प्रश्ताव गरिएको छ । आयकरसँग सम्बन्धित विषय आयकर ऐनमा र मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवस्तुको ढुवानी र ओसारपसारसँग सम्बन्धित भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) का विषय मूल्य अभिवृद्धि कर ऐनमा समावेश गर्ने प्रश्ताव छ ।

त्यसैगरी, भन्सार क्षेत्रभित्र तथा भन्सारबाहिर हुने चोरी पैठारी नियन्त्रणका लागि गरिने अनुसन्धानसम्बन्धी व्यवस्थालाई भन्सार ऐनमा समेट्ने तयारी गरिएको उनले बताए । 

कानुनी व्यवस्था एउटै विषयमा दोहोरिने अवस्था अन्त्य गर्दै सम्बन्धित विषयलाई सम्बन्धित ऐनबाटै व्यवस्थित गर्ने उद्देश्यले प्रश्ताव ल्याइएको दाहालको भनाइ छ ।