बेचबिखनमा परेका पीडितको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रूपैयाँ जरिवाना गर्न प्रस्ताव


काठमाडाैँ । सांसदहरूले मानव बेचविखनमा परेका पीडितहरुको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

महिला तथा सामाजिक मामिला समितिमा सोमबार भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले यस्तो प्रश्ताव गरेका हुन् ।

उनीहरुले पीडितको पहिचान सुरक्षित राख्नुपर्नेमा जोड दिँदै गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र १ वर्ष कैद सजायको व्यवस्था गर्नुपर्ने प्रश्ताव राखेका छन् ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती वि.क.ले अपराध नियन्त्रणका लागि कडा कानून आवश्यक रहेको बताइन् । उनले पीडितको गोपनीयता उल्लंघन गर्नेलाई ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय कायम गर्नुपर्ने प्रश्ताव राखिन् ।

हाल प्रस्तावित जरिवाना पर्याप्त नभएको उनको भनाइ छ । हाल विधेयकमा पीडितको गोपनीयता उल्लंघन गर्नेलाई १० देखि २५ हजार रूपैयाँसम्म जरिवाना हुने उल्लेख छ । सांसद वि.क.ले अपराध गर्नुअघि नै सजायको डर हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताइन् ।

अपराध गरेका व्यक्तिलाई सुधार्ने उद्देश्यसहित कानून बनाउनुपर्ने भएपनि सजायको व्यवस्था कमजोर बनाउन नहुने उनको भनाइ छ । साथै, निर्दोष व्यक्तिमाथि अन्याय हुन नदिन निष्पक्ष छानबिनको व्यवस्था पनि आवश्यक रहेको उनले बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले पनि अरूको फोटो, भिडियो वा व्यक्तिगत गोपनीयता भंग हुने सामग्री सार्वजनिक गर्नेलाई १० हजारदेखि २५ हजार रूपैयाँसम्मको जरिवाना एकदमै न्युन भएको बताइन्। जरिवानाको रकम बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले सञ्चारमाध्याममा पीडितको घटना सार्वजनिक गर्दा लिखित सहमति अनिवार्य हुनुपर्ने व्यवस्था गर्न पनि माग गरिन् । पीडितले न्यायका लागि विभिन्न निकायमा पुग्दा पनि सुनुवाई नभएपछि बाध्य भएर सञ्चारमाध्यम र सामाजिक सञ्जालको सहारा लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

तर घटना सार्वजनिक भएपछि कतिपय पीडितले सामग्री हटाउन आग्रह गर्दा सञ्चारमाध्यम र पीडित दुवै पक्ष समस्यामा पर्ने गरेको उनले बताइन् । लिखित सहमति भएमा सामग्री सार्वजनिक गर्ने पक्षसँग त्यसको प्रमाण रहने र पछि उत्पन्न हुने विवादमा दुबै पक्षले आफ्नो धारणा स्पष्ट पार्न सक्ने उनको भनाइ छ ।

रास्वपाकै सांसद ज्ञानु पौडेलले पीडितको गोपनीयता र पहिचान संरक्षणसम्बन्धी व्यवस्था यौनिक एवं लैङ्गिक अल्पसंख्यक समुदायमा पनि विस्तार गर्नुपर्ने बताइन् । मानव बेचबिखनमा महिला, बालवालिकासँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि पर्न सक्ने भएकाले उनीहरूको गोपनीयता पनि सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

उनले पनि पीडितले सञ्चारमाध्यममा आफ्ना कुरा प्रशारण गर्नुअघि लिखित सहमति दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताइन् । न्यायका लागि लामो समयसम्म विभिन्न निकाय धाउँदा पनि सुनुवाई नभएपछि पीडितहरू सञ्चारमाध्यममा आउन बाध्य हुने अवस्था रहेकोले पीडितले सञ्चारमाध्यामलाई लिखित सहमति दिनुपर्ने उनको भनाइ छ ।

उनले पनि व्यक्तिगत फोटो, भिडियो वा अन्य सामग्री सहमतिबिना सार्वजनिक गर्नेलाई ५० हजार रूपैयाँसम्म जरिवाना गर्न प्रस्ताव गरिन् । सामाजिक सञ्जालमा सामग्री भाइरल बनाउने र त्यसबाट आर्थिक लाभ लिने प्रवृत्तिले व्यक्तिको गोपनीयता तथा पहिचानको अधिकार उल्लंघन हुने गरेको उनको भनाइ छ । यस्तो कार्य नियन्त्रणका लागि साइबर अपराधसम्बन्धी कानूनी व्यवस्थासँग समेत समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् ।

समितिको छलफलमा सांसदहरूले मानव बेचविखनलाई वाह्य देशमा मात्रै नभई आन्तरिक रुपमा पनि भईरहेकोले कानून निर्माण गर्दा यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् । महिला तथा बालबालिकाहरु देशभित्र नै आन्तरिक रुपमा बेचविखनमा पर्ने गरेको उनीहरूको भनाइ छ ।

विशेष गरि ग्रामिण क्षेत्रका आर्थिक रुपमा कमजोर समुदायका बालबालिकाहरु शहरी क्षेत्रमा बेचविखनमा पर्ने गरेको सांसदहरूले बताएका छन् ।