काठमाडौँ । वर्षौंदेखि लगानीकर्ताले दाबी नगरेको लाभांश रकम जम्मा हुने लगानीकर्ता हित संरक्षण कोषमा चालु आर्थिक वर्षको चार महिनामा २ करोड ९१ लाख ७८ हजार ६०८ रुपैयाँ थपिएको छ ।
सोही अवधिमा कोषबाट ५४ लाख ९७ हजार २५६ रुपैयाँ लगानीकर्तालाई फिर्ता गरिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ सम्म विभिन्न ६२ कम्पनीबाट कोषमा कुल १ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ ।
कम्पनीहरूले पाँच वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझिलिन नआएको लाभांश रकम यस कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
कोषमा रकम जम्मा भए पनि लगानीकर्ताले आफ्नो हकदाबी गुमाउँदैनन् । वास्तविक लगानीकर्ता वा उनका कानुनी उत्तराधिकारीले आवश्यक प्रमाण पेस गरेर वर्षौंपछि पनि उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था छ ।
कार्यालयका अनुसार हालसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकल, युनिलिभर नेपाल, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंकले कोषबाट फिर्ता लगेका छन् ।
लगानीकर्ताले विभिन्न बैंक तथा वित्तीय संस्थामा छरिएर रहेको आफ्नो नबुझेको लाभांश खोज्न र प्राप्त गर्न कठिनाइ भोग्नुपर्ने अवस्था रहेकाले त्यस्तो रकम एउटै कोषमा केन्द्रित गर्न सके दाबी प्रक्रिया थप सहज हुने कम्पनी कोषका पदाधिकारीको भनाई छ ।
पुँजीबजार, लगानी नीति, कम्पनी कानुन तथा व्यापार व्यवसायसम्बन्धी कानुनी व्यवस्था सुधार गर्ने उद्देश्यले २०७३ सालमा लगानीकर्ता संरक्षण कोष स्थापना गरिएको हो ।
कोषमा लगानीकर्ताले पाँच वर्षसम्म नबुझेको लाभांशका साथै उक्त रकमबाट प्राप्त ब्याज तथा अन्य आम्दानीसमेत जम्मा हुन्छ ।
कोषको अवधारणाअनुसार मूलधन सुरक्षित राख्दै त्यसबाट प्राप्त ब्याज तथा अन्य आम्दानी लगानीकर्ताको हित संरक्षणमा उपयोग गर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्