वित्तीय विवरण लुकाउँदा रघुपति जुट मिल्स ‘असहयोगी’ सूचीमा, ऋण जोखिम बढ्यो


काठमाडौँ । नेपाल सरकारको समेत उल्लेख्य लगानी रहेको मुलुककै जेठो उद्योग श्री रघुपति जुट मिल्स लिमिटेड आफ्नो वित्तीय हिसाबकिताब लुकाउँदा ‘असहयोगी’ कम्पनीको सूचीमा परेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पटक–पटक ताकेता गर्दा पनि कम्पनीको व्यवस्थापनले कार्यसम्पादन सम्बन्धी पर्याप्त विवरण नबुझाएपछि रघुपति जुट मिल्सलाई ‘इस्युअर नट कोअपरेटिङ’ (असहयोगी निष्कासनकर्ता) को सूचीमा राख्दै रेटिङ घटुवा गरेको हो । यसले कम्पनीमा रहेको ऋण जोखिममा पर्ने सङ्केत देखिएको इक्राले जनाएको छ ।

कम्पनीले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको ऋण सीमाको रेटिङ पुनरावलोकनका लागि आवश्यक सूचना नदिएपछि इक्रा नेपालले रेटिङ घटाउनुका साथै रेटिङ फिर्ता लिने (विथड्रअल) सूचनासमेत जारी गरेको छ ।

कुनै पनि कम्पनीले रेटिङ निगरानी (सर्भिलेन्स) का लागि आफ्नो व्यापार, नाफा–नोक्सान र ऋण तिर्ने अवस्थाको विवरण नदिएमा रेटिङ एजेन्सीले ‘असहयोगी सूची’ मा राख्ने गर्छ ।

इक्रा नेपालले कम्पनीको व्यवस्थापनबाट सूचना प्राप्त नभएकाले यसको वित्तीय अवस्था र ऋण तिर्न सक्ने क्षमतामा परेको प्रभाव यकिन गर्न नसकिएको जनाएको छ ।

उपलब्ध सीमित जानकारीकै आधारमा गरिएको यो रेटिङले कम्पनीको वास्तविक ऋण जोखिमलाई पूर्ण रूपमा प्रतिबिम्बित नगर्न सक्ने भएकाले ऋणदाता बैंक तथा लगानीकर्तालाई आवश्यक सावधानी अपनाउनसमेत इक्राले सचेत गराएको छ । यसअघि सन् २०२३ अप्रिलमा पनि विवरण नबुझाएकै कारण यो कम्पनी ‘असहयोगी’ सूचीमा परेको थियो ।

इक्रा नेपालका अनुसार कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कुल १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको ऋण सीमाको रेटिङ पुनरावलोकन गरिएको हो । जसअन्तर्गत ७० लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋण सीमाको रेटिङलाई ‘इक्राएनपी एलबिबी’ बाट घटुवा गरी ‘इक्राएनपी एलबिबी माइनस (इस्युअर नट कोअपरेटिङ)’ कायम गरिएको छ । त्यस्तै, १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमाको रेटिङलाई ‘इक्राएनपी ए४ (इस्युअर नट कोअपरेटिङ)’ श्रेणीमा सारिएको छ ।

मोरङको रानी, विराटनगरमा कारखाना रहेको यस उद्योगमा हाल हेसियन कपडा, बोरा (स्याक्स) र सुतली लगायतका जुटका सामग्री उत्पादन भइरहेको छ । भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी उत्पादन गरिने यी सामग्रीको करिब ९६ प्रतिशत हिस्सा भारततर्फ निर्यात हुने उद्योगले जनाएको छ ।

यद्यपि, हाल उद्योग सञ्चालनमा रहे पनि कच्चा पदार्थको अभाव, बिक्रीमा आएको गिरावट र नगद अभाव (तरलता दबाब) का कारण उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन । पछिल्लो समय उत्पादित सामान गोदाममै थुप्रिनु, उत्पादनमा भारी कटौती हुनु र अल्पकालीन ऋणको भार बढ्नुले कम्पनी गम्भीर आर्थिक दबाबमा परेको इक्राको प्रतिवेदनमा उल्लेख छ ।

सन् १९४६ अगस्ट २३ (विसं. २००३) मा तत्कालीन नेपाल सरकार र भारतीय उद्यमीहरूको पहलमा पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापना भएको यो उद्योग हाल सञ्चालनमा रहेको नेपालकै सबैभन्दा पुरानो उद्योग हो ।

७५ वर्षभन्दा लामो इतिहास बोकेको यस उद्योगलाई निजीकरण ऐन, २०५० बमोजिम सन् १९९६ मा निजीकरण गर्दै आरके गोल्छा समूहको अरिहन्त मल्टिफाइबर्स लिमिटेडलाई बहुमत सेयर बिक्री गरिएको थियो ।

हाल कम्पनीमा अरिहन्त मल्टिफाइबर्सको ६५ प्रतिशत, नेपाल सरकार (अर्थ मन्त्रालय) को ३३ प्रतिशत र सर्वसाधारणको २ प्रतिशत सेयर स्वामित्व छ । निजीकरणपछि व्यवस्थापनले आधुनिक प्रविधि र मेसिनरीमा करोडौँ रुपैयाँ लगानी गरी उद्योगलाई पुनर्जीवन दिएको थियो ।

वार्षिक २० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यस उद्योगले करिब ३ हजार जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको उद्योगको विवरणमा उल्लेख छ ।