अफगानिस्तानमा कोइला खानी व्यवस्थित बन्दै, उत्पादन र राजश्वमा वृद्धि


अफगानिस्तानमा कोइला खानीलाई व्यवस्थित र सुरक्षित बनाउने अभियानसँगै उत्पादन तथा राजश्वमा वृद्धि हुन थालेको छ । खानीमा आधुनिक उपकरण र सुरक्षा प्रविधिको प्रयोग बढाइएपछि मजदुरको कार्यस्थल सुरक्षित बन्नुका साथै कोइला उत्पादनसमेत बढेको हो ।

अफगानिस्तानको उत्तरी बघलान प्रान्तस्थित ऐतिहासिक कारकर कोइला खानीमा पछिल्लो समय सुधारिएका सुरक्षा मापदण्डअनुसार उत्खनन भइरहेको छ ।

सुरुङभित्र काम गर्ने मजदुरको सुरक्षाका लागि धातु तथा काठका सहारा संरचना निर्माण गरिएका छन् । यसले सुरुङ भत्किने जोखिम कम गरेको छ । कारकर खानीमा करिव २५० मजदुर कार्यरत छन् ।

राजधानी काबुलबाट करिब १७० किलोमिटर उत्तरमा पर्ने पुल–ए–खुम्री सहरको बाहिरी क्षेत्रमा रहेको उक्त खानी उच्च गुणस्तरको कोइलाका लागि परिचित छ ।

खानीमा पाँच वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका अहमद साबेरले मजदुरीबाट सात सदस्यीय परिवारको खर्च धान्दै आएका छन् । उनले अहिले खानीमा काम गर्ने वातावरण राम्रो रहेको र आवश्यक सुरक्षा तथा काम गर्ने उपकरण उपलब्ध गराइएको बताए ।

उनकाअनुसार दैनिक बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मजदुरहरू सुरुङभित्र कोइला उत्खननमा खटिने गरेका छन् । कामको अवस्था र सुरक्षा व्यवस्थाबारे निरीक्षक तथा अधिकारीहरूले दैनिक अनुगमन गर्ने गरेका छन् ।

खानी सुरक्षा अधिकारी गुला जानकाअनुसार विगतमा खानीभित्र विषाक्त ग्यासको अवस्था पत्ता लगाउने उपकरणसमेत उपलब्ध थिएनन् । अहिले भने सरकारले ग्यास पत्ता लगाउने उपकरणसहित आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

नर्थ कोल कम्पनीका इन्जिनियरिङ निर्देशक अब्दुल लतिफ वहाबजाईका अनुसार उत्तरी अफगानिस्तानका नौवटै कोइला उत्खनन क्षेत्रमा प्राविधिक सुविधा र आधुनिक उपकरण विस्तार गर्ने काम भइरहेको छ ।

विगतमा पर्याप्त सहारा संरचनाबिना सुरुङ खन्ने गरिएकामा अहिले प्राविधिक मापदण्डअनुसार धातु र काठका संरचना जडान गरेर सुरुङलाई सुरक्षित बनाइएको उनले बताए ।

उनकाअनुसार उत्तरी क्षेत्रमा सरकारी स्वामित्वका खानीबाट मात्रै दैनिक करिव १ हजार २०० देखि १ हजार ५०० टनसम्म कोइला उत्पादन भइरहेको छ ।

खानीमा प्रविधि र सुरक्षा व्यवस्थाको सुधारले मजदुरको जीवन जोखिम कम गर्नुका साथै उत्पादन क्षमता बढाउन सहयोग पुगेको छ । यसले स्थानीय समुदायको आम्दानी र अफगानिस्तानको राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।