काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले सरकारले ल्याउने आर्थिक तथा व्यावसायिक कानून नियन्त्रणमुखीभन्दा कारोबारलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताएका छन् ।
मंगलबार अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलमा भाग लिँदै सांसद तामाङले विधेयकका प्रावधानले व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनेभन्दा नियन्त्रणमा बढी जोड दिएको देखिएको टिप्पणी गरेका हुन् ।
उनले ढुवानी तथा कारोबारमा अनियमितता हुने सम्भावनालाई आधार बनाएर सबै व्यवसायी र ढुवानीकर्तालाई शंकाको दृष्टिले हेर्नेगरी नियम बनाउन नहुने बताए ।
कति प्रतिशत कारोबारमा वास्तवमै अनियमितता हुने गरेको छ र त्यसलाई नियन्त्रण गर्न प्रस्तावित कानूनी व्यवस्था किन आवश्यक परेको हो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
नियन्त्रणका नाममा अत्यधिक नियम र कारबाहीका प्रावधान राख्दा स्वाभाविक आर्थिक गतिविधि नै प्रभावित हुनसक्ने भन्दै उनले विधेयक ल्याउनुको औचित्य र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे जानकारी माग गरे ।
सांसद तामाङले भारतसँगको सम्बन्ध र आर्थिक कारोबारसँग जोडिएका केही विषयमा पनि सरकारको धारणा माग गरे । उनले भारतको ‘चिकेन नेक’ क्षेत्र विस्तार गरिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्यसको वास्तविकता स्पष्ट पार्न आग्रह गरे ।
अर्थमन्त्री भारत भ्रमणमा गएको सन्दर्भ उल्लेख गर्दै उहाँले यस्तो विषयमा जानकारी लिने उपयुक्त अवसर रहेको बताए । लिपुलेकसम्बन्धी विषय भ्रमणका क्रममा नउठेको कुरा स्पष्ट भइसके पनि चिकेन नेक क्षेत्र विस्तार भएको भन्ने समाचार गम्भीर भएकाले त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
भारतले नेपाललाई भारतीय मुद्रा उपलब्ध गराउने र नेपालले भारतीय मुद्रामै भुक्तानी वा ऋण चुक्ता गर्नुपर्ने व्यवस्थाबारे पनि उनले प्रश्न उठाए ।
नेपालको आयात भुक्तानीका लागि भारतीय मुद्रा आवश्यक पर्ने भएपनि त्यसका लागि नेपालले हरेक वर्ष अमेरिकी डलर साटेर भारतीय मुद्रा खरिद गर्नुपर्ने अवस्था रहेको भन्दै उनले प्रस्तावित व्यवस्थाको भुक्तानी प्रणाली र आर्थिक प्रभाव स्पष्ट पार्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्