काठमाडौँ । सडक बोर्ड नेपालका कार्यकारी सदस्य अरुणकुमार श्रेष्ठले मुस्ताङस्थित कोरला नाकालाई प्रमुख व्यापारिक, पर्यटकीय तथा आर्थिक केन्द्रका रूपमा विकास गर्न सडक र एकीकृत भन्सार पूर्वाधारको तत्काल स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् ।
रसुवा र तातोपानी नाका प्राकृतिक विपद्ले प्रभावित भइरहेका बेला चीनसँगको व्यापार विविधीकरणका लागि कोरला नाकाको महत्त्व बढेको उनको भनाइ छ ।
कोरला नाकाको स्थलगत अनुगमनपछि श्रेष्ठले भने, “चीनतर्फ अत्याधुनिक र व्यवस्थित संरचना बनिसकेका छन्, तर नेपालतर्फ कर्मचारी, सुरक्षाकर्मी र व्यवसायीका लागि सामान्य आवास, शौचालय र खानेपानीको समेत अभाव छ ।”
पोखरा–बेनी–जोमसोम–कोरला (२७५ किमि) सडकखण्डमा बाढीको क्षति र ठेकेदारको ढिलासुस्तीले काम सुस्त भएको उनले बताए । “तोडिएका ठेक्काको तत्काल पुनःप्रक्रिया अघि बढाई सडक स्तरोन्नतिलाई द्रुत गति दिनुपर्छ,”उनले भने, “यो सडकलाई व्यापारमा मात्र सीमित नराखी मुक्तिनाथ पर्यटन र स्थानीय स्याउ, आलु जस्ता कृषि उपजको बजारीकरणसँग जोड्नुपर्छ ।”
भन्सारका लागि छुट्याइएको करिब एक हजार रोपनी जग्गा उपयोगविहीन रहेको उल्लेख गर्दै श्रेष्ठले हालसम्म करिब सात हजार विद्युतीय सवारीसाधन भित्रिइसकेको नाकामा आधुनिक एकीकृत भन्सार अपरिहार्य भइसकेको बताए ।

“चीनले समेत डिपिआर तयार गरिसकेको अवस्थामा सरकारले तत्काल निर्णय लिनुपर्छ,” उनले सुझाव दिए, “सरकारले नसके पिपिपी मोडलमार्फत निजी क्षेत्रलाई सहभागी गराएर पूर्वाधार बनाउन सकिन्छ ।”
अनुगमनका क्रममा एउटै ट्रक लोड गरेको २६ हजार रुपैयाँसम्म मजदुर शुल्क र एक ट्रिपको ३ देखि ४ लाख रुपैयाँसम्म ढुवानी भाडा लिने गरेको पाइएको उनले बताए । यस्तो कारोबारमा अनिवार्य प्यान÷भ्याट बिल र कर दायित्वको प्रभावकारी अनुगमन हुनुपर्नेमा उनले जोड दिए ।
साथै, हिमाली क्षेत्रको प्रतिकूल मौसमअनुसार श्रमिकको ज्याला र न्यानो आवासको विशेष नीति ल्याउन तथा गिट्टी–बालुवा उत्खननसम्बन्धी कानुनी झन्झट हटाउन पनि श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्