तल्लो अरुण जलविद्युत आयोजनाको ठेक्का आह्वानः २०३० को डिसेम्बरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य


काठमाडाैँ । तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हृमराज अर्यालले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाहको यही मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त आयोजनको शिलान्यास गरेका थिए ।

प्रवक्ता अर्यालले आयोजनाको करिव ११ अर्ब ४९ करोड २१ लाख भारतीय रूपैयाँको ठेक्का आह्वान समेत भइसकेको बताए । निर्धारित समयमै विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माणको काम अघि बढ्ने उनको भनाइ छ ।

त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएका २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानूनबमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए ।

उनकाअनुसार निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई रायपरामर्श उपलब्ध गराइएको छ । उनले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि जानकारी दिए ।

उनले भने, “तल्लो अरुण जलविद्युत परियोजना जुन ६६९ मेगावाटको मेटेरियलाइज्ड भएको अवस्था छ । मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीज्युहरुबाट यसको संयुक्त रुपमा शिलान्यास पनि भइसकेको छ । यस परियोजनाको जम्माजम्मी प्याकेज एक तर्फको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान पनि भइसकेको छ । र २०३० को डिसेम्बर ४ बाट यो परियोजनाबाट विद्युत उत्पादन हुनेगरी मिति समेत आजै कायम गरिएको छ ।”

उनले हेलो सरकारमा पछिल्लो १० दिनको अवधिमा तीन हजार ५१ वटा गुनासा प्राप्त भएकोमा दुई हजार ७ सय ५४ वटा फछ्र्योट गरिएको र २ सय ३४ वटा गुनासा सम्बोधन गरिएको समेत जानकारी दिए ।