सबै अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आधार तयार गरिएको छः मन्त्री वादी


काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताएकी छिन् । 

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा मन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको योजना रहेको बताएकी हुन् ।

निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकसँगै सरकारी क्षेत्रका सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेका कर्मचारीलाई पनि सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउने सरकारको नीति रहेको बताइन् ।

उनकाअनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रूपैयाँमध्येबाट संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आवद्ध गराउने आधार तयार गरिएको छ ।

त्यसैगरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन स्थानीय तहको सहयोगदानसहितको सहभागितालाई प्रोत्साहन गर्ने र श्रमिकका लागि हाल एक प्रतिशतले हुने रकम बराबरको सहयोगदान संघीय सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइएको उनले बताइन् ।

सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्री वादीको भनाइ छ ।

सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्ने आधार तयार गरेको उनले बताइन् । 

विभिन्न निकाय र कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र एकीकृत गर्न एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकासमा सरकार क्रियाशील रहेको बताउँदै मन्त्री वादीले सामाजिक सुरक्षा कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिवद्धताबाट निर्माण भएको नागरिकको भविष्यसँग जोडिएको साझा भरोसाको पुँजीका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।

कोषको संरक्षण, पारदर्शिता, प्रभावकारी व्यवस्थापन, योगदानको उचित परिचालन तथा दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ ।