लगानी बोर्डकाे ४८ औं बैठक सम्पन्न, ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति


काठमाडौं । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ४८ औं बैठक आज सम्पन्न भयो ।

लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न भन्दै ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दोलखामा रहेको ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत परियोजनाका लागि १०.५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ ।

बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्च–स्तरीय अध्ययन समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिव तोकिएको    छ ।

बैठकले लगानी बोर्डको आ.व. २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको शेयर खरिद विक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले विद्युत खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिएका बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए ।