काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सुर्तिजन्य पदार्थको करबापत संकलन भएको सबै रकम स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग गरेका छन् ।
ऐन, कानून र नियमावलीमा सुर्तिजन्य पदार्थको करवापत उठेको रकम स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने व्यवस्था भएको उल्लेख भएपनि सो अनुसार बजेट विनियोजन नभएको स्वास्थ्य मन्त्री बस्नेतको भनाई छ ।
उनका अनुसार सुर्तिजन्य पदार्थको करबाट हाल ६ अर्ब रकम उठेको छ ।
सो मध्ये सरकारले बजेटमा ४० करोड मात्रै स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले रु. ६ अर्ब बजेट नै कानूनी रुपमा आफ्नो मन्त्रालयले पाउनुपर्ने जिकिर गरे ।
उनले भने,“अहिले सुर्जिजन्य पदार्थमा उठेको टयाक्स ६ अर्वमा यो वर्ष ४० करोड मात्र पाएका छौं । बाँकि पैसा चाँही यो मन्त्रालयलाई दिएर र दरबन्दी चाँही अगाडि बढाऊ यो प्रक्रिया भन्यो भने राम्रैसँग समस्या हल हुँदै जान्छ ।”
उनले सो बजेट मन्त्रालयलाई उपलब्ध गराए दरबन्दीसम्बन्धि सबैभन्दा ठूलो समस्या हल गर्दै लैजान सकिने योजना पनि सुनाए ।
दरबन्दीकै अभावमा हाल जनताले उचित ढंगले स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसको उचित व्यवस्थापन गर्नका लागि पनि सुर्तिजन्य पदार्थको करबापत उठेको रकम स्वास्थ्य मन्त्रालयलाई दिन जरुरी रहेको बताए ।
स्वास्थ्य मन्त्री बस्नेतले भने,“ समग्रमा भन्नुपर्दा ४ जना चाहिनेमा एक जना हुँदा कसरी काम गर्न सक्छ ? एउटा त्यो समस्या । अर्को हामीले गर्न नसकेको काम छ । त्यो भनेको दरबन्दीलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्नु । त्यो पनि त समस्या छ ।”
प्रतिक्रिया दिनुहोस्