महासंघका अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबिच वर्तमान अर्थतन्त्रबारे मतभेद,अर्थमन्त्री नै अलमलिए


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबिच अहिलेको अर्थतन्त्रलाई हेर्ने दृष्टिकोणबारे विवाद सतहमै आउन थालेकाे छ ।

महासंघका दुई मुख्य पदाधिकारीबिच फरक धारणा आउन थालेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले संस्थागत धारणा ल्याउन आग्रह गरेका छन् ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्षको धारणाले अलमलमा परेका अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा संस्थागत धारणा प्रष्ट पार्न नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह गरेका हुन् ।

आन्तरिक राजश्व विभागले आज आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा उद्योग वाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षको धारणा फरक भएको भन्दै संस्थागत धारणा स्पष्ट पार्न आग्रह गरे ।

अर्थमन्त्री महतले भने,“अस्ति मन्त्रालयमा तपाईंहरूको अध्यक्षले राम्रो कुरा गर्नुभएको थियो । सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयास गरेको छ भन्नुभएको थियो । आज वरिष्ठ उपाध्यक्षले निकै नगेटिभ कुरा मात्रै गर्नुभयो । पहिला तपाईंहरूको संस्थागत धारणा के हो ? प्रष्ट पार्नुस् ।”

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सकारात्मक रहेको भन्ने र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाउनु राम्रो नभएको अर्थमन्त्री महतको भनाई थियो ।

महासंघले अर्थतन्त्रका विषयमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक भएर धारणा राख्न अर्थमन्त्री महतले सुझाव दिए ।

अर्थमन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई आफू व्यापारमात्रै गर्ने तर उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने ? भन्दै प्रश्न समेत गरे । अर्थमन्त्री महतले बिस्तारै बैंकको ब्याजदर घट्ने क्रममा रहेको भन्दै अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए ।

उनले निजी क्षेत्रलाई दिने अन्य सहुलियतहरू राष्ट्र बैंकबाट आउने विश्वास रहेको बताए । अर्थमन्त्री महतले चेम्बरका अध्यक्ष र परिंसघका उपाध्यक्षले सकारात्मक कुरा गरे पनि महासंघका वरिष्ठ उपाध्यक्षले नकारात्मक कुरा मात्रै गरेको उल्लेख गरे ।