आइपियुको १४७औँ महासभा एङ्गोलामा शुरु


काठमाडौँ । अन्तर व्यवस्थापिका संघ(आइपियू)को १४७ औं महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा सुरु भएको छ ।

‘शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ शुरु भएको महासभा एक समारोहकाबिच उद्घाटन भएको छ । महासभा कार्तिक ६ देखि १०(अक्टोबर २३-२७) सम्म सञ्चालन हुने छ ।

महासभाको उद्घाटन समारोहमा बोल्दै एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्सले शान्ति र प्रजातन्त्रका लागि सबै संसदवादीहरू एक ठाउँमा आउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा अन्तर व्यवस्थापिका संघ(आईपियु)का महासचिव डुराकल पाचेको, संयुक्त राष्टसंघका विशेष प्रतिनिधी डुराटे पाचेका लगायतले शुभकामना दिए ।

१४७ औं महासभामा नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय संसदीय प्रतिनिधि मण्डल सहभागी रहेको छ ।

महासभामा नेपालको तर्फबाट सहभागी प्रतिनिधि मण्डलका सदस्यहरूमा राष्ट्रिय सभाका सदस्य द्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य दयरुपा सोसी चौधरी र सन्तोष परियार एवम संघीय संसदका महासचिव डा. भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ(प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा छन् ।

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष तिमिल्सिना आइपियुको एसिया प्यासिफिक रिजनल बैठकमा सोमबार नै सहभागी भए भने सोमबार नै भएको फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधीसभा सदस्य रुपा सोशी चौधरीले सहभागी भइन् ।

आइपियुको फोरम अफ योङ्ग पार्लियामेन्टमा प्रतिनिधीसभा सदस्य सन्तोष परियार सहभागी हुने कार्यक्रम छ भने नाम पार्लियामेन्टरी नेटवर्कको बैठकमा राष्ट्रिय सभाका सदस्य जितेन्द्र देव सहभागी हुने कार्यक्रम छ ।

यस्तै महासभासंगै संसदका महासचिवहरूका्े संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहेका संघीय संसदका महासचिव डा. भरतराज गौतमले सहभागिता जनाउने कार्यक्रम छ ।