१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ


काठमाडौँ । बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। उनी बुधबार भक्तपुरको गठ्ठाघरमा रंगेहात पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति उनलाई भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वादेलाई रंगेहात प्रकाउ गरेको हो ।

उनीसँग स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन्।

उनको चालक पदम बहादुर प्रधानलाई समेत भक्तपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको घिमिरेले जानकारी दिए ।