स्वेज नहर अवरोध हुँदा दैनिक साढे नौ अर्ब अमेरिकी डलर बढीको व्यापार ठप्प


काठमाडौ । स्वेज नहरमा ठूला ठूला कन्टेनर बोक्ने एभर गिभन पानी जहाज पछाडिएपछि त्यहाँबाट दैनिक ९.६ अर्ब अमेरिकी डलर बराबरको वस्तु आपूर्तिमा अवरोध हुन पुगेको छ ।

पूर्व र पश्चिमबीचको एक महत्वपूर्ण जलमार्ग स्वेज नहर हो । यहाँबाट एक घन्टामा ४० करोड अमेरिकी डलर बराबरको व्यापार हुन्छ ।
सिपिङ डेटाहरूको आधारमा यो जानकारी बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

लोयडको मूल्य सूचीको आधारमा यो स्वेज नहरबाट मोटामोटी एक दिनमा ५.१ अर्ब अमेरिकी डलर बराबरको ढुवानी पश्चिमतर्फ जान्छ भने ४.५ अर्ब अमेरिकी डलर बराबरको पूर्व तर्फ जाने गरेको देखिन्छ ।

बाटो खुलाउन प्रयास भइरहेको भएपनि यो जलमार्गको अवरोध खुलाउन केही साता लाग्ने देखिएको विज्ञहरू बताइरहेका छन् ।

द एभर ग्रिन ढुवानी जहाज सेवा ताइवानको कम्पनी हो । एभरग्रिन मरिन कम्पनीले सञ्चालन गरेको एभर गिभनको लम्बाई चार फुटबल मैदानको बराबर छ । विश्वका ठूला कन्टेनर बोक्ने पानी जहाजहरू मध्ये एक हो ।

२ लाख टनको यो जहाजले २० हजार कन्टेनरलाई बोकेर हिँडने क्षमता राखछ । जहाजको पुच्छर अन्य जहाजहरूसँग जोडिएर अवरूद्ध हुन पुगेको हो । यहाँबाट अन्य जहाजहरू पास हुन गाह्रो भइरहेको छ ।

कन्टेनर जहाजहरू विगतका दशकहरूको तुलनामा आकारमा ठूलो हुने गरेका छन् । विश्वको व्यापारमा विस्तारभइ कन्टेनर बोक्ने जहाजको आकार पनि ठूलो हुन थालेको छ । उनीहरू पछाडिएर पन्छाउन धेरै गाह्रो हुने गरेको छ ।

यो स्वेज नहरले अफ्रिकालाई मध्यपूर्व र एसियालाई छुट्टयाउँछ । यो विश्वकै सबै भन्दा व्यस्त हुने व्यापारिक मार्ग हो । यो मार्गले विश्वको कुल व्यापारको १२ प्रतिशत हिस्सा ओगटेको छ ।

तेल टयांकर र लुगा, गाडीका पार्टपुर्जाजस्ता उपभोग्य वस्तुहरूको कन्टेनर जहाज यताबाट ओहोरदोहोर गर्ने गरेको छ । स्वेज नहरको दुबै छेउमा १६० जहाजहरू बाटो खुल्ने पर्खाइमा रहेका छन् यी मध्ये २४ वटा तेल टयांकरहरू छन्।