नेपाल आयल निगमको संचित बचत शून्यको अवस्थामा, मासिक घाटा नै रु. ४ अर्ब पुग्ने


काठमाडौं । नेपाल आयल निगमले संचित बचत शून्यको अवस्थामा पुगेको भन्दै मुल्य समायोजनसहित आगामी तीन महिनाको आपूर्ति धान्न कम्तिमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएको छ ।

निगमले आज विज्ञप्ति जारी गर्दै व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मुल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति रहेको बताएको छ ।

निगमका सह–प्रवक्ता पुष्कर कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“अब निगमसँग संचित बचत शून्यको अवस्थामा पुगेकोले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब रु. २ अर्ब अपुग हुने स्थिति देखिएको छ ।”

आउँदा दिनहरूमा केही मुल्य समायोजन गरिएता पनि महिनाको करिब ४ अर्ब रुपैयाँ भन्दा बढी नै मासिक घाटा रहने देखिएको निगमको भनाई छ ।

इण्डियन आयल कर्पोरेशनबाट माघ २ गतै आएको नयाँ मूल्य सूची अनुसार अबको १५ दिनमा कम्तिमा २ अर्ब २४ करोड रुपैयाँ घाटा हुने देखिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म निगमले १९ अर्ब २६ करोड रुपैयाँ भन्दा बढी रुपैयाँ घाटा बेहोरेको छ ।