इद पर्व कुनै समुदाय विशेषको मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएको छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्‍नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्‍वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीप्रचण्डले आज शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे । इद पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, सहिष्णुता र सद्‍भाव गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्‍वासका साथ शुभकामना व्यक्त ।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ, “हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन् ।”

नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्री दाहालको सन्देशमा उल्लेख छ ।