मुग्लिन–नारायणगढ सडक खण्डमा पुल निर्माण प्रभावित


काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका–नारायणगढ सडकखण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताए ।

मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि फराकिलो बनाएसँगै पुल पनि फराकिलो बनाउने काम सुरु भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ वटा पुल छन् । तीमध्ये चार वटा पुल निर्माणको काम सडकसँगै सकिसकेको छ । बाँकी १५ वटा पुल निर्माणका लागि विसं २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।

सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलहरुको भौतिक प्रगति औसतमा भन्दा ५० प्रतिशत भएको इञ्जिनीयर आचार्यले बताए । आठ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्नमात्र बाँकी छ । सडकसँग जोड्नका लागि घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताए ।

उनका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब रु एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थमन्त्रालयमा पत्र पठाइएको उनको भनाइ छ ।

मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ वटा पुलमध्ये तीन वटा पुलको काम अझै सुरु भएको छैन् । दुई वटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुईन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उनको भनाइ छ ।

उनले निर्माण कम्पनीलाई रकम दिनका लागि पनि बजेट अभाव भएको बताए । चालु आर्थिक वर्षको हालसम्म रु १५ करोड मात्रै बजेट प्राप्त भएको उल्लेख गर्दै उनले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गरे । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो ।

प्याकेज–१ का पुल निर्माणका लागि रु ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि रु ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरुको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरुको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिए । रासस