डिम्याट खाता प्रयोगकर्ताको संख्या ५० लाख नाघ्यो


काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । सिडिएस क्लियरिङका अनुसार सोमबारसम्ममा ५० लाख ७ हजार २४२ डिम्याट खाता पुगेकोे छ ।

पछिल्लो समयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ आइराखेकाले पनि डिम्याट खाताको संख्या बढेको हो । गत आवको असार मसान्तसम्ममा करीब ३७ लाख डिम्याट खातामा रहेकोमा फागुन १७ गते सम्ममा ५० लाख नाघेको हो ।

केहिवर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजानिक निष्कासनमा अनिवार्य १० कित्ता सेयरको व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्ने क्रम बढेको हो । प्राथमिक र दोस्रो बजार पनि पूर्ण रुपमा अनलाईन प्रणालीमा गइसकेकोले पनि आगामी दिनमा अझै डिम्याट खाता बढ्ने देखिन्छ ।

डिम्याट खातासँगै मेरो सेयर खाताको संख्या पनि बढेको छ । सिडिएसका अनुसार मेरो सेयरको संख्या ४१ लाख १९ हजार २१ पुगेको छ । असार मसान्तसम्ममा मेरो सेयरको संख्या २८ लाख ५५ हजार थियो ।

के हो डिम्याट खाता ?

भौतिकरुपमा भएका सेयरका प्रमाणपत्रलाई अभौतिकीकरण गर्ने प्रकिया डिम्याट हो।

अर्थात बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता डिम्याट खाता हो। डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ।

प्राइमरी र सेकेण्डरी मार्केटमा सेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य हुन्छ ।