एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (वुमन)’ बाट सम्मानित


काठमाडौँ। नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत महिला विधाको अवार्ड बाट कंसकारलाई सम्मानित गरेका हुन्।

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो ।

इन्जिनियरिङ क्षेत्रमा करियर सुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन र अहिले उनी १४० बढि प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् ।

असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।

एनसेलमा कार्यरत रही उनले टुजी, थ्रिजी, फोरजीको व्यापक विस्तार लगायत विभिन्न काम गरेकी एनसेलले जनाएको छ । कंसाकारले ग्रामीण क्षेत्रमा दुरसञ्चारको पहुच, भीओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौ प्रोजेक्टहरुको लागि नेतृत्व लिएर कार्य गरेकी छिन् ।

काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, जर्मनीबाट इन्फरमेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नाकोत्तर र पोखरा विश्व विद्यालयबाट इएमबिए अध्ययन गरेकी कंसाकारले आफ्नो पेशा र क्षेत्रमा लगनशील रहि एनसेललाई देशको एक प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा स्थापित गराउँन अतुलनिय योगदान दिएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको छ । प्युठानका डा. शैलेन्द्र गिरी नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानि भएका छन् ।

वान प्वाइन्ट फाईनान्सियल सर्भिसेज्ले नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ । मोनाल टेक ‘नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।

सामाजिक सुरक्षा कोषले नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राईभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ । प्रदेशस्तरबाट नीजि क्षेत्रको डाइनामिक टेक्नोसफ्टले नेसनल आइसिटी अवार्ड २०२४ जितेको छ ।