स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण: परिसंघ


काठमान्डौँ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचारहरु प्रकाशित भएको थियो ।

सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएको परिसंघले जनाएको छ ।

हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएको तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नगरेको उल्लेख गरेको छ । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएको परिसंघले जनाएको छ ।

अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेका कारण प्राधिकरणको यस कार्य प्रति परिसंघले खेद प्रकट गरेको छ ।

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघले आग्रह गरेको छ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघको माग छ ।