विभिन्न कार्यक्रम गरी मनाइयो २४ औँ विश्व दूध दिवस


काठमाडाैँ । ‘दूध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ विश्व दूध दिवस मनाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान, पशु सेवा विभागलगायतले संयुक्त रूपमा झापाको एनएमसी फार्मको परिसर मेची नगरपालिका १४ ढुवागडीमा मूल समारोह गर्दै २४ औँ विश्व दूध दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन् ।

“दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,” उनले भनिन्, “मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरूले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याइन् । दुधबाट बनेका वस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनले बताइन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए ।

उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए । उनले संस्थान र निजी क्षेत्रका गोदामहरु दूधजन्य उत्पादनको भण्डारणले भरिएको हुँदा यसको विक्री वितरणको चाँडो व्यवस्था नभए आउँदो आर्थिक वर्षको सुरुदेखि नै नयाँ उत्पादन राख्ने ठाउँ नहुने बताए ।

त्यस्तै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल्ले विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन् गर्दै दूधको उपभोगमा वृद्धि गर्ने लक्ष्यसहित यो दिवस मनाइएको बताए ।

मेचीनगर–१४ दुहागढीस्थित एनएमसी एग्रो फार्ममा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट डेरी उद्योगका रूपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीका रूपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकका रूपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थियो ।

सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवसको रूपमा मनाउँदै आइएको छ। नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन थालेको छ।