देशको विभिन्न शहरमा विद्युत कटौति गरेकोमा सांसदहरूको आपत्ति


काठमाडौँ । देशका विभिन्न शहरहरूमा विद्युत कटौति हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौति गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले आक्रोश व्यक्त गरेका हुन् ।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४\५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगंजमा अघोषित रूपमा विद्युत कटौति हुने गरेको भन्दै आपत्ति जनाइन् । उनले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गरिन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत कटौति नगर्न सरकारलाई दबाब दिए।

उनले भने “गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुपर्छ, नेपाल विद्युत प्राधिकरणले व्यापक रुपमा विद्युत कटौति गरी राखेको छ । त्यसकारण तराई मधेसमा व्यापक रुपमा गर्मीको महशुस र जीवन कष्टकर बन्दै गएको छ ।”

चरम गर्मीको अवस्थामा विद्युत कटौति नगरीदिन सांसद चौधरीले सरकारसँग जोडदार माग गरे ।