‘जलविद्युतकाे प्राविधिक पक्षमा लगानीकर्ता ठगिन्छन्’


काभ्रेपलाञ्चोक बनेपा–४ उग्रचण्डी नालाका राजन श्रेष्ठ, नेपालको जलविद्युत क्षेत्रमा कहलिएका इन्जिनियर हुन् । नेपालको जलविद्युत् क्षेत्रमा देखिएको प्राविधिकको अभाव परिपूर्ति गर्न श्रेष्ठले महत्वपूर्ण भूमिका खेले । सानैदेखि प्रविधिलाई साथी बनाएका उनले जलविद्युत क्षेत्रमा सानो समस्या पर्ने वित्तिकै विदेशी प्राविधिक बोलाउनुपर्ने बाध्यता हटाउन नेतृत्वदायी भूमिका मात्रै खेलेनन्, जनशक्ति समेत तयार गरे । टक्सार सँग उनले ठोकुवा नै गरे– ‘नेपालमा ९० प्रतिशत जलविद्युत् लगानीकर्ता आयोजनाका प्राविधिक पक्षबारे जानकारी नै राख्दैनन् र ठगिन्छन् ।’ उनकै शब्दमा नेपालको जलविद्युत्को प्राविधिक क्षेत्रका समस्या, जनशक्ति र अहिलेको अवस्थाः– 

_____________ई. राजन श्रेष्ठ_____________

मलाई बच्चैदेखि प्राविधिक क्षेत्र मन पर्ने । विद्युतीय मोटर कसरी घुम्छ ?बिजुली कसरी बलेको होला ? भन्ने जिज्ञासा हुन्थ्यो । गाउँमा घुम्दै विद्युतीय सामानहरू खोज्थेँ र त्यसको बारेमा बुझ्ने प्रयास गर्थे । एसएलसीपछि प्राविधिक क्षेत्रमा प्रवेश गर्ने सोचका कारण मैले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत– बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी बालाजु, काठमाडौंमा २ वर्षे इलेक्ट्रिकल कोर्र्समा नाम निस्क्यो र प्राविधिक अध्ययन सुरू भयो । कोर्ष पूरा गरेपछि केही समय वैैकल्पिक ऊर्जाका विभिन्न परियोजनामा काम गर्ने मौका मिल्यो र थप ऊर्जा सम्बन्धित ज्ञान प्राप्त भयो । 

चार वर्षको अन्तरालपछि पढाइलाई निरन्तरता दिन पुनः बालाजु स्कूल अफ इजिनियरिङ एण्ड टेक्नोलोजी बालाजु काठमाडौंमा ३ वर्ष डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङमा अध्ययन सुरू गरेँ । पढाइ सकेलगत्तै वैकल्पिक ऊर्जा एव लघु तथा साना जलविद्युत् क्षेत्रमा काम गर्ने अवसर प्राप्त भयो । यसरी ४ वर्ष निरन्तर कामको दौरान विभिन्न देशी–विदेशी प्राविधिकसँग सम्बन्धित काम अनुभव बटुल्न पाएँ । यस हाइड्रो क्षेत्र काम गर्दा आफूमा शैक्षिक ज्ञानको अनुभवको कमी भइरहयो र यसलाई परिपूर्ति गर्नका लागि पूर्वाञ्चल विश्वविद्यालयको  ‘ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन’ कोर्षमा नाम निकालेर ४ वर्षे अध्ययन सुरु गरेँ।

पढाइ र जागिरको व्यवस्था मिलाउन निकै गाह्रो परेको अनुभव आजसम्म ताजा छ । यो १५–१६ वर्ष अगाडिदेखि निजी क्षेत्रले पनि जलविद्युत् क्षेत्रमा लगानी सुरु गरेपछि यस क्षेत्रको सम्भावना बढ्न सुरु ग-यो । आफूसँग पहिले नै यस क्षेत्रसँग सम्बन्धित सीप भएका कारण यसैमा निरन्तरता दिने निधो गरेर व्यवसायिक रूपमा अगाडि बढ्ने सोचका साथ एउटा कम्पनी खोल्ने निर्णय गरे र तुरुन्तै आफ्ना तीनजना साथीहरू(हाल नेपाल विद्युत प्राधिकरणमा कार्यरत) मिलेर ‘नेपाल इनर्जी एण्ड इन्भाइरोमेन्टल स्टडिज प्रा.लि’ नामको कम्पनी स्थापना ग-यौं र यसै नामबाट विभिन्न सेवाहरू प्रदान गर्दै आइरह्यौं । त्यो बेला झन्डै एक्लोजस्तौ थियौँ, व्यावसायिकता रूपमा । अवस्था कस्तो थियो भने जलविद्युतसँग सम्बन्धित प्राविधिक कर्मचारी कि नेपाल विद्युत प्राधिकरणसँग हुन्थ्यो कि त हामीसँग हुन्थ्यो । 

नेपालमा बल्ल केही संस्थाहरूले प्राविधिक तयार गर्नका लागि तालिम सञ्चालन गर्न थालेका छन् तर नेपालमा हाइड्रोका लागि जनशक्ति तयार गर्ने भनेर कुनै पनि सरकारी निकाय वा निजी क्षेत्र लागेको पाइदैन। काम गर्दै सिक्दै जाने परिस्थिति छ।

यसै क्रममा स्वदेशी, विदेशी विशेषगरी चाइनिज मेसिन बढी आयात हुन्थ्यो । चाइनिज प्राविधिकसँग मेसिन उपकरणहरू जडान तथा मर्मत गर्ने मौका पायौं र काम गर्दै जादा धेरै सूक्ष्म प्राविधिकसँग सिक्ने र बुझ्ने अवसर पाएँ । विस्तारै जलविद्युत् निर्माण तथा मेसिन उपकरणका पक्षमा काम गर्न राम्रो आत्मविश्वास बन्यो । 

बिगतलाई सम्झिने हो भने एउटा ‘प्रोटेक्सन डिभाइस’ मर्मत तथा सेटिङ गर्न महिनौसम्म मेसिन बन्द गरेर चीनका प्राविधिकलाई बोलाइन्थ्यो किन भने हरेक जटिल खालका प्रविधि नेपाली प्राविधिकहरूलाई नयाँ थियो र त्यससँग सम्बन्धित सामान्य प्राविधिक ज्ञान भएका इन्जिनियरको अभाव थियो । यस्ता समस्यालाई बुझेर मसहित मेरो टिम यी क्षेत्रमा दिर्घकालीनसम्म जाने गरेर दृढताका साथ लाग्ने प्रयत्न ग-यौं र अभ्यास गर्दै जाँदा जलविद्युत्का अधिकांश प्राविधिक समस्या हामी आफैले समाधान गर्न सफल भयौं । 

हामीले जहाँ काम गर्‍यौं, त्यहाँ बाहिरबाट प्राविधिक बोलाउनुपर्ने बाध्यतालाई निरन्तर कम गर्दै जान सफल भयौं । यसरी सस्तो, सुलभ र सफल भएको थाहा पाएपछि एक कम्पनीबाट अर्को कम्पनीमा जलविद्युत् उत्पादनकर्ताहरूबाट सिफारिस गरिदिनु भयो र हामी सफल हुँदै गयौं। 

हरेक ठाउँमा हामीले नयाँ प्रणालीका साथै नयाँ समस्याको सामना गर्नुगर्‍यो। त्यो हाम्रा लागि चुनौती हुन्थ्यो र त्यसमा आफ्नो निरन्तरताले नयाँ प्रविधिको अध्ययनसँग समस्यामा सफलता पनि पाउँथ्यौं, यसले हामीलाई खुशी बन्याउथ्यो । हाइड्रोपावर एक यस्तो व्यवसाय हो जसमा पैसालाई भन्दा पनि प्रविधि र प्राविधिक विषयवस्तु अग्रस्थानमा र महत्वपूर्ण हुने गर्दछ।

तर बिडम्वना नेपालमा यसको उल्टो भइरहेको छ । आयोजनाको योजना अनुसार सही तथा गुणस्तरीय मेसिन प्रणाली छनोट गर्न नसक्नु, भित्रिएका प्रविधिलाई नेपाली प्राविधिक नभइ विदेशी प्राविधिकबाट परीक्षण नगराउनु, सही ढंगले अनुभवी इन्जिनियर तथा कन्सल्ट्यान्टअन्तर्गत रहेर जडान तथा सञ्चालन नगराउनु जस्ता ठूलो समस्या नेपालमा अझै पनि छ । 

प्राविधिक व्यवस्थापन सही गर्न नसक्दा लक्ष्य अनुसार विद्युत उत्पादन गर्न हुँदैन र आयोजना घाटामा जान्छ । यसको उदाहरणका लागि हाल सञ्चालनमा रहेका रुग्ण अवस्थाका आयोजनालाई लिन सकिन्छ । सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा पनि यो समस्या देखिएको छ, जहाँ आयोजनालाई बचाइ राख्न संघर्षमयको अवस्था देखिन्छ । 

हाम्रो अनुभव, सिकाइ र जलविद्युत् क्षेत्रमा देखिएका समस्याले हामीलाई क्षेत्रमा लाग्न आकर्षित पनि ग-यो र व्यावसायिक ढंगले लाग्यौँ । हामीले हाइड्रो इलोक्ट्रोनिकल क्षेत्रसँग सम्बन्धित सबै प्रकारका प्राविधिक सेवाहरू दिइरहेका छौं । हामीले गर्ने काममाः 

  • आपूर्तिकर्तासँगको सम्झौताअनुसार उपकरणको भए नभएकोबारे परीक्षण तथा सुपरीवेक्षण गर्ने
  • प्रविधि जडान तथा सुपरीवेक्षण
  • अप्रेसन डाटा अनुगमन गर्ने तथा सुझाव दिने
  • आयोजना सञ्चालन तालिम दिने
  • मर्मत–सम्भारका लागि दक्ष जनशक्ति उपलब्ध गराउने, स्पेयर्स पार्टको सही व्यवस्थापन गर्ने तथा आपूर्ति गर्ने
  • अटोमेसन सफ्टवेयर, एससीएडीए सेटिङ/डाटा लगबुकका साथै प्राविधिक आपूर्तिकर्ताबाट बिक्रीपछि पनि दिइने सेवा–सुविधाको काम समेत सम्हाल्ने लगायतका जलविद्युत्का लागि आवश्य महत्वपूर्ण काम,

हामीले गर्दै आएका छौं । अहिले निस इन्जिनियर्स प्रा.लि.बाट थप काम गर्दै आइरहेका छौं ।

निजी क्षेत्रबाट जलविद्युत योजना बन्ने क्रमसँगै प्राविधिकहरूको पनि माग बढ्दै गएको छ, जसका कारण प्राविधिकहरू आफ्नो सुविधासहित पायक पर्ने आयोजना रोज्न पाएका छन् । यसै क्रममा हाम्रो संस्थाबाट मात्र अहिलेसम्म ४० जनाभन्दा बढी प्राविधिक उत्पादन गरी विभिन्न आयोजनामा तथा नेपाल विद्युत् प्राधिकरणमा समेत नाम निकालेर सफलतापूर्वक आफ्नो काम गरिरहेका छन् जुन हामीलाई पनि गौरव गर्नु कुरा हो । 

बिगत ३–४ वर्षयता नेपालमा पनि ठूला हाइड्रो मेकानिकल वर्कसप खुल्ने क्रम जारी छ जसबाट यो क्षेत्रमा मर्मत सम्भार गर्ने क्षमता पूर्वरूपमा स्वदेशमै विकास हुनेछ भन्ने मलाई लाग्छ । हामी पनि हाइड्रो इलोक्ट्रो–मेकानिकलसम्बन्धि सम्पूर्ण रूपमा काम गर्न सक्ने संस्था बन्यौं । लगानीकर्ता, आपूर्तिकर्ता, प्रविधि, प्राविधिक विषयमा खुलेर प्राविधिक हिसाबले छलफल र सुझाव प्रादन गर्न सकिरहेका छौं । 

हामीले काम गर्दै जाँदा भोगेका केही अनुभव– नेपालका अधिकांश भन्डै ९० प्रतिशत लगानीकर्तालाई आफूले लगानी गरिरहेको आयोजनाको वस्तुस्थिति नै थाह हुँदैन । उनीहरूलाई बढीमा आफ्नो आयोजनालाई कुन कम्पनीले वा आपूर्तिकर्ताले उपकरण दिनेसम्म थाहा होला तर दिन खोजेको प्राविधिको भित्री पक्षसम्म त जानकारी हुँदैन नै । 

हामीले जहाँ काम ग-यौं, त्यहाँ बाहिरबाट प्राविधिक बोलाउनुपर्ने बाध्यतालाई निरन्तर कम गर्दै जान सफल भयौं। यसरी सस्तो, सुलभ र सफल भएको थाहा पाएपछि एक कम्पनीबाट अर्को कम्पनीमा जलविद्युत् उत्पादनकर्ताहरूबाट सिफारिस गरिदिनु भयो र हामी सफल हुँदै गयौं।

लगानीकर्तालाई प्रतिमेगावाट यति मूल्यमा भनेर टुंग्यायो अनि सस्तोमा मिलाइयो भनेर खुशी भएका हुन्छन् तर आपूर्तिकर्ताले मूल्य अनुसार आफ्नो प्रविधि तयार गरेको हुन्छ जुन कुरा जलविद्युत लगानीकर्तालाई थाहा हुँदैन । यसरी यस क्षेत्रमा पूर्ण रूपले सहयोग गर्न सक्ने जनशक्तिको अझै पनि अभाव पनि छ । जलविद्युत्मा जडान हुने सम्पूर्ण सरसामान विदेशमा नै उत्पादन हुने भएकाले हरेक सरसामानको सफ्टवेयरदेखि सेटिङसम्म सबै गम्भीर ढंगले अध्ययनका लागि समर्पित हुनुपर्छ । 

नयाँ उत्पादन भएका इन्जिनियरले पनि ५–७ वर्ष काम गरिसकेपछि बल्ल आफ्नो योजनाको जडित प्रणालीका बारेमा बुझ्न थाल्छन् । आज हाम्रो देशमा पनि हाइड्रो–इलेक्ट्रिोमेकानिकलसम्बन्धि नै पढेर यसैमा काम गर्छु भन्ने छैन । यो हरेक विधाका इन्जिनियरहरूको एउटा पक्षको रूपमा अध्ययन गरेको पाइन्छ । 

नेपालमा बल्ल केही संस्थाहरूले प्राविधिक तयार गर्नका लागि तालिम सञ्चालन गर्न थालेका छन् तर नेपालमा हाइड्रोका लागि जनशक्ति तयार गर्ने भनेर कुनै पनि सरकारी निकाय वा निजी क्षेत्र लागेको पाइदैन । काम गर्दै सिक्दै जाने परिस्थिति छ । 

आजभन्दा १०–१२ वर्ष अघिसम्म यो क्षेत्रमा प्राविधिक,इन्जिनियर सबै विदेशी नै हुन्थे । कुनै प्राविधिक समस्या आयो भने उनीहरू नै बसेर समाधान गर्नुपथ्र्यो । अहिलेसम्म पनि कतिपय योजनामा यो कायमै छ तर विगत ५ वर्षयता निरन्तर यो क्षेत्रको विकासका कारण नेपाली प्राविधिकहरू पनि उत्तिकै सक्षम हुने क्रम बढेको छ र ९० प्रतिशतभन्दा बढी काम नेपाली प्राविधिकले नै हेर्न सक्षम भएका छौं, यो धेरै खुशीको कुरा हो । 

अहिले हामीले आफ्नै कुरा गर्ने हो भने पनि सञ्चालनमा रहेका आयोजनाका लागि प्याकेजमै सेवा दिइरहेका छौं जहाँ विदेशी जनशक्ति खासै आवश्यक पर्दैन । जुनसुकै कम्पनीको स्पेयर्स पार्ट हामी उपलब्ध गराउन सक्छौं । अहिले नियमित रूपमा ७ वटा योजना पूर्ण रूपमा हामी आफैले हेरिरहेका छौं भने विभिन्न आंशिक सेवासहित जोड्दा २५ वटा आयोजनामा हामीले काम गरिरहेका छौं । 

हाल नेपालको हाइड्रो क्षेत्रसँग सम्बन्धित प्रविधि पक्षलाई हेर्ने हो भने सिंगो नेतृत्व नेपाल विद्युत प्राधिकरणसँग सीमित छ । यसकारणले पनि निजी क्षेत्रलाई लक्षित गरेर हामीले समग्र प्राविधि पक्षलाई समेट्ने गरी लगानी गर्दैछौं र सहयोगको पनि अपेक्षा राखेका छौं । यसको उद्देश्य भनेको सहज तरिकाले जलविद्युतको प्रविधि जाँच गर्ने यन्त्र (टेष्टिङ किट) दक्ष जनशक्तिका साथ सहजै उपलब्ध होस् । 

किट कहिलेकाँही मात्रै प्रयोग हुने तर महँगो भएकाले निजी क्षेत्र, मझौला तथा साना आयोजनाको स्टक प्राथमिकताभित्र पर्दैन । हामीले ८० प्रतिशत आफै खरिद गरिसकेका छौं बाकीपनि आवश्यकता अनुसार छिट्टै खरिद गर्दैछौं । अर्थात् मेरो भनाइको उद्देश्य के हो भने जलविद्युत क्षेत्रका लागि चाहिने सबै सामान राख्न सकुन् भन्ने हो । 

पहिले एउटा सानो समस्या हुँदा पनि अतालिएर मेसिन नै बन्द गरी विदेशीको मुख ताख्नुपर्ने अवस्था थियो, अब हामी आफै त्यसको नेतृत्व गर्नसक्ने अवस्थामा छौं । जलविद्युत् प्राविधिक पक्ष हामी आफैले बुझ्न सक्ने भएका छौं । यसले छिटो मेसिन सञ्चालनमा आउने भयो भने लगानीकर्ताको पनि बचत हुने भयो ।

अर्को पक्ष भनेको पहिलेजस्तो आपूर्तिकर्ताले उपकरण दिँदा जुन मनलाग्यो त्यो दिन सक्दैन । हामीले औंला ठड्याउन सक्ने भएका छौं । जलविद्युत्का मेसिन तथा विभिन्न उपकरणहरू सम्झौता अनुसार छन् कि छैनन् भनेर भन्दिने पहिले कोही थिएन तर अब हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि हामीसँग समन्वय भएको खण्डमा हामी ठगिन दिँदैनौं । 

टक्सार म्यागजिन, चैत २०७८ मा प्रकाशित