कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरेको प्रमाण पेश गरे सामना गर्न तयार छुः अर्थमन्त्री पुन


काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरूले पेश गरे सामना गर्न तयार रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा भन्सार ऐनका विषयमा सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले आफूले आर्थिक विधेयकमा कुनैपनि व्यवसायी समूहको प्रभाव र दबाबमा निर्धारण नगरेको स्पष्टिकरण दिएका हुन् । उनले सांसदहरुले त्यस्तो प्रमाण संसद वा अन्य निकायमा पेश गरे सामान गर्न तयार रहेको भन्दै प्रमाण विनाका आरोपलाई रोष्टमबाट नै खारेज गर्ने बताए।

उनले तयारी सामानहरूलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरूलाई सस्तो बनायने सरकारको स्पष्ट नीति रहेको उल्लेख गरे । उनले यस्तो नीतिले मुलुकभित्रको आन्तरिक उत्पादन बढ्ने भएकाले भन्सारतिर धेरै चिन्ता लिनुपर्ने अवस्था नपर्ने बताए । उनले आन्तरिक उत्पादन र बिक्रीवितरणतिर आउने अन्तःशुल्कहरू र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्य रुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने विश्वास सरकारको रहेको भन्दै त्यही अनुसारका भन्सार नीति बनाएको दाबी गरे ।

उनले एसेम्बल उद्योगहरूको हकमा भन्सार महशुल छुट दीर्घकालिन रूपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले दिइरहेको बताए ।

“एसेम्बल उद्योगहरुको हकमा बाहिरबाट पार्टपुर्जा ल्याउने र नेपालमा गाडी तथा मोटर साइकलहरु जोड्ने र भ्यालु एड वा मूल्य अभिवृद्धि नहुने तर भन्सार महशुल शुल्क कम गरे भन्सार चुहावट भयो भन्ने चर्चा भयो । यसमा धेरै भन्सार गुमेको छ तर दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले छुट दिइरहेका छौं,” उनले भने ।

उनले चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने अस्वभाविक महत्वकांक्षा नराखेकाले आगामी वर्ष राजश्वको लक्ष्य पूरा हुने बताए । उनले भन्सारलाई फेस,कन्ट्याक,पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा सरकार स्पष्ट नीति लिएर अघि बढेको बताए ।