आयकर ऐन २०५८ को दफा ५७ संशोधन प्रस्ताव राष्ट्रिय सभाबाट पारित नहुने भएपछि २७ गतेको बैठकमा पुन छलफल हुने


काठमाडौँ । आयकर ऐन २०५८ को दफा ५७ संशोधन प्रस्ताव राष्ट्रिय सभाबाट पास नहुने भएपछि २७ गतेको बैठकमा पुन छलफल हुने भएको छ । राष्ट्रियसभाकी एमाले सांसद भगवती न्यौपानले संशोधन हटाउनुपर्ने भन्दै संशोधन दर्ता गरेकी थिइन् ।

सोही दर्तामा सत्ता समीकरण परिवर्तन भएसँगै राष्ट्रिय सभाबाट पारित नहुने भएपछि आज हुने भनिएको छलफल २७ गते हुने भएको हो । एमाले र माओवादीको संयुक्त सरकार भएको समयमा नै असार १७ गते प्रतिनिसभाले पारित गरेर राष्ट्रियसभामा पुगेको आर्थिक विधेयक जस्ताको त्यस्तै पारित गर्न एमालेले अस्वीकार गरेको हो।

सांसद न्यौपानेले दफा ५७ (१) मा गर्न खोजिएको संशोधन देशको हितमा नभएको कारण यसले कालो पैसालाई सेतो बनाउने, करछलीलाई फाइदा पुर्‍याएर राजश्व संकलनमै असर पार्ने भएकाले २७ गते थप छलफल हुने बताइन् ।

“सरकारको तर्फबाट संशोधन फिर्ता लिनुपर्ने भन्ने मन्त्री ज्यूको आग्रह भइहाल्यो । हामीले फिर्ता लिने कुरा भएन छलफल अगाडी बढ्छ । छलफल अगाडी बढ्दा सभाबाट पास भयो भने पनि सकिहाल्यो । पास नभएपनि सक्यो । पारित भयो भने प्रतिनिधि सभामा जान्छ पारित भएन भने सकिन्छ भन्ने हिसाबले हामीले भन्यौं । होइन त्यसो भए छलफल गर्ने अर्को दिन बैठक राखेर त्यसलाई फेरी पनि छलफल गरौं २७ गतेको बैठकमा अगाडी बढाउँ भन्ने कुरा भएपछाडी हुन्छ भनेर त्यहि गरेर सहमती गरेर २७ गतेको बैठक राखेको र त्यो दिन अगाडी बढ्छ,” उनले भनिन् ।