देशका समस्याहरु सम्बोधन गर्न काँग्रेस—एमाले एक भयौँः सांसद महत


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताए ।

उनले वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको उल्लेख गरे । स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको उनकाे भनाइ छ । उनले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरु एक भएका बताए ।