काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गरिने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्युनिकरण र सदाचार पद्धतीको प्रयोग गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए ।
उनले सरकारका सबै अंगहरुमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने उल्लेख गरे । सार्वजनिक खरिद कानूनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइने उनकाे भनाइ छ ।
उनले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्वन गर्ने बताए । अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने पनि उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले राजश्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रिय बिजक अनुगमन प्रणाली, भिसिटिएस सूचना प्रणाली, भुमी व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तरआवद्धता कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्