घुस दिएको विषयलाई सांसदले नजरअन्दाज गर्न मिल्दैनः सांसद केसी


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरेका हुन् । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको ? भन्दै प्रश्न गरे ।

उनले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताए । उनले उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि नभएको गुनासो गरे । उनले पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गरे ।

उनले मुलुकमा भ्रष्टाचार बढेको कारणले राजश्व संकलनमा समेत गिरावट भएको बताए । उनले सरकारको आम्दानी भन्दा खर्च धेरै भएकाले आर्थिक रुपमा शिथिल बन्न पुगेको बताए । उनले अब सरकारले मुलुकमा भएका युवाहरूलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताए ।