बीस वर्षमा ४ प्रतिशत आर्थिक वृद्धिदर


काठमाडौं । बीस वर्षको अवधिमा आर्थिक वृद्धिदर ४ प्रतिशतमात्र भएको पूर्व गर्भनर तिलक रावलले बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिक साधारसभामा रावलले तथ्याङ्क हेर्दा कोरोना अगाडी पनि अर्थतन्त्र राम्रो नभएको बताए ।

उनले भने,“ विगत १० वर्षमा हाम्रो अर्थतन्त्र ४.१ प्रतिशतले बढेको छ । यसलाई तानेर २० वर्षको आर्थिक वृद्धिदर हेर्ने हो भने त्यो ४ प्रतिशतमात्र भएको छ । विगत ३ वर्षको आर्थिक वृद्धिदर १ प्रतिशतमात्र रहेको । यसको जसअपजस कुन प्रधानमन्त्री कुन अर्थमन्त्रीले लिने हो ?” भन्दै प्रश्न गरे ।

रावलले अर्थतन्त्र हिजो भन्दा आज झन् नराम्रो हुँदै गएको बताए । नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा माथि नजाने अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंकले भनिरहँदा सम्बन्धित ठाउँबाट ७ प्रतिशत भन्दा कम हुन्छ भनेर खबर नआएको बताएका छन् । यसरी हेर्दा आर्थिक वृद्धिदर पनि राम्रो छैन र अरु सुचकाङ्क पनि राम्रो नभएको बताए ।

अर्थतन्त्रको समस्या कुनै एक पार्टीको सरकार, कुनै एक प्रधानमन्त्री, अर्थमन्त्रीलाई यसको जसअपजस दिन नहुने उनले बताए । रावलले यो सबैले विचार गर्नुपर्ने कुरा भएको बताए । रावलले यो अवधिमा सरकारले गर्नुपर्ने काम नगरेको बताए । उद्यमी व्यापारीले जुन अपेक्षा आशा गरेका थिए सरकारले केहि ल्याउँछ भनेर त्यो आउन नसकेको उनले जानकारी दिए । उनले भने,“विश्वका थुप्रै राष्ट्रले बजेट मार्फत विशेष व्यवस्था गरेर भएपनि प्याकेज ल्याएको तर त्यो नेपालमा हुन सकेन ।”

भुक्तानी सन्तुलन, चालु खाता विगतको भन्दा झन् खस्कँदै गएकोले कुन तथ्याङ्क हेरेर राम्रो भन्ने कतै नदेखेको रावलले बताए । सरकार यसलाई पनि ढाकछोप गर्न लागि परेको उनले बताएका छन् । यो समस्या कुनै एउटा व्यक्ति, एउटा प्रधानमन्त्री एउटा अर्थमन्त्रीले सिर्जना नगरेको रावलले बताए । उनले अर्थतन्त्र बचाउन सबै मिलेर अगाडी बढ्न आग्रह गरेका छन् ।