चालु आर्थिक वर्षमा रू. २० खर्बको आयात हुने अनुमान


काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २० खर्ब बराबरको आयात हुने अनुमान गरेको छ ।

विभागले चालु आर्थिक वर्षको ८ महिनामा भएको आयातको आधारमा यो आर्थिक वर्षमा २० खर्ब बराबरको आयात हुने अनुमान गरेको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा १४ खर्ब बराबरको सामान आयात भइसकेको छ । व्यापार घाटा बढ्ने भएपछि सरकारले विभिन्न सामान आयात कडाइ गर्दै आइराखेको छ ।

सरकारले विभिन्न सामानहरू आयात नगर्नको लागि निर्देशन दिएको छ । आयातमा कडाइ गर्दा गर्दै पनि २० खर्ब बराबरको हुने प्रक्षेपण विभागले गरेको छ । निर्यात भने चालु आर्थिक वर्षमा ३ खर्ब २० अर्ब बराबरको हुने जनाइएको छ ।

२०७८/७९ मा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने विभागले उल्लेख गरेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा हुने भनिरहँदा केन्द्रीय तथ्यांक विभागले भने ५.८४ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री भने आर्थिक वृद्धिदर ७ प्रतिशत हुने बताउँदै आएका छन् ।

बुधबार राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा पूर्व गर्भनर डाक्टर तिलक रावललले आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा बढि नहुने बताएका थिए ।

रावलले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले र हामी जस्ता साधारण मानिसले ४ प्रतिशतभन्दा बढि नहुने भनिरहँदा सम्बन्धित ठाउँबाट ७ प्रतिशतभन्दा कम नहुने भन्न नसकेको बताएका थिए ।

राष्ट्रिय योजना आयोगका सचिव केशव प्रसाद भण्डारीले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले हाम्रै कार्यलयमा आएर के भइराखेको छ भनेर बुभ्mने हो उनीहरुले त्यसैको आधारमा बनाउने गरेको बताए ।