सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छः अर्थमन्त्री पौडेल


काठमाडाैँ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन् ।

आइतवार मन्त्रालयमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले विद्युत उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बचेको विद्युत निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताए । उनले उर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभइ इन्करेज गरेर अघि बढ्ने बताए ।

“सरकारको पनि नीति र मेरो आफ्नो दृष्टिकोण पनि के हो भने हामीले उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ । अहिलेको सभ्यताको, जीवनस्तरको, ह्युमन डेभलपमेण्ट इण्डेक्सको मापन गर्ने एउटा महत्वपूर्ण आधार परक्यापिटा इनर्जी कन्जुम्सन कति छ भन्ने पनि होला । कति डलर कमाउँछ भनेको जस्तै कति बिजुली खपत गर्छ ? भनेर पनि हेरिन्छ । त्यो पनि बढाउनुपर्ने छ,”उनले भने ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उर्जा उत्पादकहरुलाई आफ्नो मनोबल बढाइ विद्युत उत्पादनमा लाग्न आग्रह गरे ।