निर्माण व्यवसायीहरूको भुक्तानी चाँडै हुन्छः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी चाँडो गर्ने बताएका छन् ।

शनिवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी छिटोभन्दा छिटो दिइने बताएका हुन् ।

उनले काम गर्ने तर भुक्तानी नपाउने अवस्था हुनुनहुने भन्दै काम सकेर बिल फछ्र्यौट गरिसकेकाहरूले भुक्तानी पाउनुपर्ने बताए। उनले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरूको विवरण संकलन गरिरहेको भन्दै विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताए ।

मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने बताए । उनले आफूहरू पनि विगतको सरकारमा रहेको र आफूहरुले नै पारित गरेको बजेट भएकाले कार्यान्वयनमा जाँदा धेरै हेरफेर नहुने बताए ।

उनले भौैतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको आयोजनाहरुपनि सय प्रतिशत कार्यान्वयन गराउन लाग्ने बताए । उनले सबै कार्यान्वयन नभए ९० प्रतिशत भन्दा बढी कार्यान्वयन गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।