अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियानमा छौंः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन् ।

आइतवार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गरे ।

उनले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने बताए । उनले मुलुक आर्थिक रुपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरु जनताले उपभोग गर्न नपाउने बताए ।

उनले अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखापरेको बताए।

“राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा सिथिलता देखापरेको छ । अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै गतिशिल बनाउँदै आर्थिक क्रियाकलापहरुलाई विस्तार गर्ने नागरिक र मुलुकको भविष्यप्रति विश्वास जगाउने छ भन्ने विषयमा सरकार केन्द्रित छ । जनतामा आशा जगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक सामाजिक रुपमा समृद्ध तुल्याउने महाअभियानमा छ,” उनले भने ।

उनले अडानले मुलुकको आर्थिक क्रियाकलापलाई पारदर्शी, स्वस्थ र अनौपचारी अर्थतन्त्रलाई औपचारीक अर्थतन्त्रको दायरामा ल्याउन महत्वपूर्ण भुमिका खेल्न आग्रह गरे ।