विश्व बैंकसँग प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि ११ अर्ब रुपैयाँ बराबरको सम्झौता


काठमाडाैँ । नेपालको प्रादेशिक तथा स्थानस्य सडक सुधारको लागि विश्व बैंक र सरकारबीच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तिय सम्झौता भएको छ ।

सोमवार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबिच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। विश्व बैंकले प्रादेशिक तथा स्थानीय सडक सुधार कायोजनाको लागि १ सय मिलियन अमेरिकी डलर अर्थात करिव ११ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर पश्चात बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले विश्व बैंकसँग एक सय मिलियन अमेरिकी डलर बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि वित्तिय सहयोग सम्झौतामा हस्ताक्षर भएको बताए । उनले आयोजनाभित्र २ सय किलोमिटर प्रादेशिक र स्थानीय सडक निर्माण र स्तर उन्नति हुने बताए । उनले प्रादेशिक र स्थानीय तहको यातायात क्षेत्रको निर्माणमा असल अभ्यासहरू अवलम्वन गर्न प्रोत्साहित गरी क्षमता विकास हुने विश्वास लिएको बताए ।

त्यस्तै विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले विश्व बैंकले नेपालको प्रादेशिक र स्थानीय सडक सुधारका लागि सहयोग प्रदान गरिएको बताए ।

विश्व बैंकले प्रादेशकि र स्थानीय सडक सुधारको लागि दिने अनुदान सहुलियत रकम स्वीकार गर्ने यसअघि नै सरकारले निर्णय गरेको थियो ।